यी हुन् एमाले सुर्खेत अध्यक्षका आकाङ्क्षी

सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौँ जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ । अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि भने आकाङ्क्षीहरूले दौडधुप शुरू गर्न थालेका छन् । वडादेखि पालिकासम्म सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले जिल्ला नेतृत्व पनि सर्वसम्मत रूपमै टुङ्ग्याउने कसरत जारी राखेको छ । तर, जिल्ला अध्यक्षका लागि भने झण्डै आधा दर्जन आकाङ्क्षीहरु छन् ।

अध्यक्षका लागि बहालवाला पार्टी अध्यक्ष ध्रुवकुमार शाही, उपाध्यक्ष अमृतबहादुर बिसी, जिल्ला कमिटी सदस्य डन्डीप्रसाद शर्मा, कुलमणि देवकोटा, महेन्द्र शर्मा र ऐनबहादुर चन्द लगायत आकाङ्क्षी देखिएका छन् । जसमध्ये शाही, बिसी र शर्मा अध्यक्षका बलिया दाबेदार हुन् । चन्द र देवकोटा आकाङ्क्षी भए पनि अध्यक्ष हुने सम्भावना कमजोर रहेको एमाले एक नेताले बताए । यस्तै बहालवाल अध्यक्ष शाही आफू पुनः अध्यक्षमा नदोहोरिने बताएका छन् ।

तर, पार्टीले आवश्यक ठानेर अध्यक्ष पद दिएपछि जिम्मेवारी लिने उनको सोच रहेको छ । ‘नेतृत्वका लागि आधा दर्जन आकाङ्क्षीहरू भए पनि चुनाव नगरेर सबै पदाधिकारी सर्वसम्मत चुन्ने एमाले सुर्खेतले जनाएको छ । साथै कुनै पनि पदमा निर्वाचन नगर्ने केन्द्रको निर्देशन अनुसार सुर्खेतमा पनि सर्वसम्मत रूपमै नेतृत्व टुङग्याउने नेताहरूले तयारी थालेका छन् ।

पार्टी फुटेको अवस्थामा निर्वाचन गर्दा थप क्षति पुग्ने भन्दै केन्द्रले सर्वसम्मतिमा नेतृत्व चयन गर्न जिल्लाका नेताहरूलाई समेत दबाब दिएको एमालेले जनाएको छ । यस्तै एमालेका अनुसार एमाले स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल र केन्द्रीय सदस्य नवराज रावत एकै ठाउँमा उभिएको खण्डमा जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुनेछ । तर कँडेल र रावत एकमत नभए निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ ।

नेता कँडेलले उपाध्यक्ष बिसीको योगदानलाई कदर गर्दै अध्यक्षमा अगाडि सार्ने तयारी गरेको स्रोतको दाबी छ । बहालवाला अध्यक्ष शाहीलाई प्रदेश कमिटीमा रोजेको पद सुनिश्चित गरेर बिसीलाई अगाडि सार्ने कँडेलको तयारी छ । तर बिसीको नाममा नेता रावत सहमत छैनन् । रावतले भने शर्मालाई अध्यक्ष बनाउन चाहेका छन् ।

कँडेल र रावतबीच सहमति नभएमा बिसी र शर्माबीच निर्वाचन हुनसक्ने एमाले नेताहरूले बताउँछन् । अधिवेशन सम्पन्न गर्नका लागि एमालेले यसअघि नै विभिन्न आठ वटा समिति गठन गरेको छ । शर्मा यसअघि नेकपा एमाले जिल्ला कमिटी सदस्य, बिसी जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *