ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँचविरूद्ध राजस्व छलीको मुद्दा

काठमाडौँ । ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा हालेको छ ।

विभागले अभियुक्त ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्तु ढकाल सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर(भ्याट), आयकर र लाभांश छलेको भन्दै उच्च अदालत पाटनमा ५ जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको जनाएको छ । विभागले आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठलाई समेत विपक्षी बनाएको छ ।

उनीहरुले १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व छली गरेको आरोपमा विभागले मुद्दा हालेको हो । उनीहरुसँग छली गरेको राजस्व रकमबराबरकै बिगो असुल उपर गर्न र ३ वर्ष जेल सजायको माग गर्दै अदालतमा विभागले मुद्दा दर्ता गरेको छ ।

ललिना निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा मुख्य अभियुक्त शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशमा हाल थुनामा रहेका छन् ।

ढकालले उक्त कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार नै नभएको वा कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर छलेको विभागले विज्ञप्ती जारी गरेर जनाएको छ ।

आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *