‘चुनावमा मात्रै मिठो बोल्ने नेतालाई भोट दिँदैनौँ’

‘भोट माग्ने नेतालाई भिजन माग्छौँ’

काठमाडौँ । यत्तिबेला निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । कतिपय मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुग्ने गरेका छन् ।

आफ्नो मताधिकार सुनिश्चित गर्ने अभियानमा सबै उमेर समूहका मतदाताहरूको सक्रिय सहभागिता देखिएको छ । राष्ट्रिय निर्वाचनमा भाग लिने र आफ्नो प्रतिनिधि आफैँ चुन्ने अधिकारको सदुपयोग गर्ने मनसायसहित साता दिनअघिदेखि कार्यालयको प्राङ्गणमा लामै मतदाताहरूको लाम देखिने गरेको छ ।

मतदानको आफ्नो अधिकार सुनिश्चित गर्न लामबद्ध बनेकाहरू मकालुखबरको टोली पुग्दा पनि उसैगरी लाममै थिए । उनीहरूमध्येबाट ५ जनालाई मकालुखबरले कस्तो नेतालाई भोट दिनुहुन्छ (?) भनेर सोधेको थियो । उनीहरूले मिश्रित प्रतिक्रिया दिएका दिए ।

000

बैतडीका दीपक विष्ट पार्टीलाई नभइ व्यक्तिलाई हेरेर भोट दिनुपर्ने र आफूले पनि त्यसै गर्ने बताउँछन् । पार्टीहरूको झोले बनेर हिँड्ने अहिलेका पुस्तासँग दुःख लाग्ने उल्लेख गर्दै विष्ट भन्छन्, ‘अब हामी भोट माग्ने नेताहरूलाई भिजन माग्छौँ । नेपाललाई समृद्ध बनाउनका लागि तपाईंसँग के भिजन छ (?) भनेर सोध्छौँ ।’

निःस्वार्थ रूपमा देश र जनताको सेवामा जुट्ने नेता पाउन गाह्रो हुने तर, त्यस्तोखाले नेता उत्पादनमा आफूजस्तै मतदाताहरूको हात ठूलाे रहने दृष्टान्त विष्ट सुनाउँछन्, भन्छन्— ‘वास्तवमै राजनीतिक दलहरू धेरै छन्, ती दलहरूभित्र कतिपय राम्रा मान्छेहरू पनि छन् । त्यसैले अबको पुस्ताको चुनावी निर्णय भनेको पार्टी नभइ व्यक्तिलाई हेर्छु भन्ने हुनुपर्छ । म व्यक्तिलाई हेरेर भोट हाल्न पनि अपिल गर्छु ।’



नुवाकोटकी कमली तामाङ जितेर गएपछि पनि गाउँको सम्झना गर्ने नेतालाई जिताउने पक्षमा छिन् । गतनिर्वाचनमा आफूहरूले जिताएर पठाएको प्रतिनिधिले नहेरेको गुनासो उनीसँग छ । भन्छिन्— ‘अब चाहिँ त्यस्ताे नेतालाई भोट दिन्छु, जसले आफ्नो गाउँ, आफ्नो मतदाता र जनतालाई हेर्छन् ।’

आफ्नाे जिल्लाका एक कांग्रेस नेताको उदाहरण प्रस्तुत गर्दै तामाङ भन्छिन्, ‘कतिपय नेताहरू त गुण बिर्सिने हुन्छन्, हुँदारहेछन् । चुनावमा भोट दियो, गर्छन् कि भन्यो, गर्दैनन् । यस्तो नेताहरूलाई चाहिँ समयमै चिन्नुपर्दोरहेछ । भोट दिन नहुने रहेछ ।अब चाहिँ यसै गर्ने हाे ।’

काठमाडौँकी सीता लामिछाने चुनावमा मात्रै मिठा बोल्ने नेतालाई भोट नदिने बाचा गर्छिन् । ‘चुनावमा मात्रै मिठो बोल्ने नेतालाई भोट दिँइदैन । भोट दियो जित्छन्, जान्छन् । सत्तामा पुगेपछि आफ्नाे मतदाताहरूसमेत बिर्सन्छन् । त्यसपछि फर्किएर आउँदैनन्,’ लामिछानेको भनाइ छ ।

उनी अरू मतदाताहरूलाई पनि यस्तो व्यक्तिलाई भोट नदिन आह्वान गर्छिन् । ‘पहिले दिइहालियो,’ जोशी सुनाउँछिन्, ‘अब त दिइँदै दिइन्न । चुनावमा मात्रै जनता चाहिने नेताको काम छैन । काम पनि गर्दैनन् । भाेट कहाँबाट दिनू ।’

काठमाडौँकी कल्पना जोशी भने अहिल्यै यस्ताे नेता वा यसलाई भोट हाल्छु भनेर निर्णय गरिनसकेको सुनाउँछिन् । यद्यपि नेता छनौट गर्दा ध्यान भने दिनुपर्ने उनको भनाइ छ । नेताहरूको आचरण हेरेर निर्वाचनताका नै निर्णय लिने उल्लेख गर्दै भन्छिन्, ‘राम्रो नेतालाई भोट दिने हो । हामीलाई हेर्ने र वास्ता गर्ने नेताहरूलाई भोट दिन्छु ।’

तपाईंजस्तै अन्य मतदाताहरूलाई के सुझाव दिनुहुन्छ (?) भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘पार्टीलाई भन्दा नेतालाई हेरेर भोट दिनुपर्छ भनेर भन्छु ।’ कतिपय नेताहरू जनतालाई हेप्ने प्रवृत्तिका हुने दृष्टान्त सुनाउँदै उनी भन्छिन्, ‘यस्ता नेताहरूलाई चाहिँ बेलैमा चिन्नुपर्ने रहेछ । अब त हामीले चिन्याैँ ।’

काठमाडाैँकी रश्मी खड्का गाउँको बारेमा सोच्ने नेतालाई भोट दिने सुरमा छिन् । गाउँको विकासबारे सोच्ने नेतालाई भोट दिनुपर्ने उल्लेख गर्दै उनी भन्छिन्— ‘जसले गाउँको विकासलाई जोड दिन्छ, त्यस्ता नेताहरूलाई भोट हाल्छु र हाल्न अपिल पनि गर्छु ।’

त्यसका लागि मतदाताले नेता छान्नमा गल्ती गर्न नहुने उनकाे भनाइ छ । मतदाताहरूकाे गलत निर्णयले देशलाई क्षति हुनेतर्फ सचेत गराउँदै खड्का भन्छिन्—’सही नेता छान्ने काममा मतदाता चुक्नुहुन्न । म यही भन्छु, राम्राे नेतालाई भाेट दिउँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *