राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा दलहरूले टुङ्ग्याए उम्मेदवार

सुर्खेत। आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै दलहरूले उम्मेदवारहरू टुङ्ग्याएका छन् । एमालेले केन्द्रमा सिफारिस गरेका ९ जनामध्येबाट दुई जना खुला र एक जना अल्पसङ्ख्यकबाट गरी तीन जना उम्मेदवार उठाएको कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार खुलाबाट जुम्लाकी गंगा महत र सुर्खेतका चुडामणि शर्मा र अल्पसङ्ख्यकबाट दैलेखका पदम माझी उम्मेदवार बनेका छन् । कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सोमबार नै उम्मेदवार तय गरेको हो ।

यस्तै सत्तारुढ तीन दलीय गठबन्धनका उम्मेदवारको पनि नाम टुङ्गिएको कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका संविधान सभा सदस्य नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै शहीद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहरा उम्मेदवार बनेका छन् । स्थानीय तह र प्रदेशमा गठबन्धनको गढ बलियो भएकोले तीन जनाको नै जित निश्चित भएको गठबन्धनका नेताहरुले विश्वास लगेका छन् ।

यस्तो छ मतभार

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा मतभारका हिसाबले सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। एमाले दोस्रो , नेपाली कांग्रेस तेस्रो दल, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा पाँचौँ दलका रूपमा छन् । ७९ वटा स्थानीय तह भएको कर्णालीमा माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी छन् ।

उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल १५१२ मतभार छ । एमालेसँग प्रदेश सांसद १३ जना छन् । उनीहरूको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ । एमालेसँग कुल मतभार १४३४ रहेको छ । नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ । कांग्रेससँग कुल मतभार १००८ मत छ ।

कर्णालीमा एकीकृत समाजवादीका तीन जना प्रदेश सांसद  छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ । तीन जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ ।

३५ सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका ६ जना, माओवादीका १२ जना, एमालेका १३ जना, समाजवादीका तीन जना र राप्रपाका एक जना सांसद छन् । प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख नै राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *