विवाद बिर्सिएर अब विश्वकपमा छनोट हुनुपर्छ : ज्ञानेन्द्र

काठमाडौँ ।  नेपाली राष्ट्रिय टीमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटलाई सबैभन्दा माथि राखेर मैदानमा उत्रिएको बताएका छन्। मंगलबार अभ्यासका लागि कीर्तिपुर मैदानमा पुगेका मल्लले आफ्ना लागि क्रिकेट नै सबै थोक भएकाले विवाद बिर्सिएर अब विश्वकप छनोटमा केन्द्रीत हुने बताए ।

उनले भने, ‘महत्त्वपूर्ण प्रतियोगिताको रूपमा रहेको विश्वकप छनोट नजिकिएको छ। अब सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्नुपर्छ।’ उनले वर्षौँ देशका लागि खेलेको र सामान्य कुरा विवादका रूपमा बाहिर आउँदा आत्मसम्मानमा चोट पुगेको बताए।

‘वर्षौँदेखि देशका लागि खेल्दै आएका छौँ । सामान्य कुरा विवादका रूपमा निकालेर जे गरियो त्यो स्वाभाविक रूपमा आत्मसमानमा असर गर्‍यो। तर जीवनमा मुभ हुनुपर्छ, सधैँका लागि कप्तान हुन आएको पनि होइन, हुने पनि होइन, पहिला पनि खेलेको थिएँ अब पनि खेल्छु त्यो नै मुख्य कुरा हो, देशका लागि, मेरो लागि र परिवारका लागि खेल्छु।’, उनले नेपाल क्रिकेट संघ क्यानलाई आफूले कहिले पनि तल देखाउने प्रयास नगरेको पनि बताए।

मल्लले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नुपर्ने बताए। उनले यसअघि जे भयो भयो बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेको भन्दै अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए । उनले भने, ‘सामान्य असन्तुष्टिका कुराहरूमा पहिले नै छलफल भएको भए विषय यति ठूलो र यति परसम्म पुग्ने थिएन।’ यद्यपि उनले जे हुन्छ राम्रोका लागि हुने भन्दै सबैले आ-आफ्नो ठाउँबाट रियलाइज गरेको बताए।

उनले अब विश्वकप छनोट नजिकिँदै गएको भन्दै कसैप्रति मनमुटाव नभएको पनि बताए। ‘हाम्रा केही असन्तुष्टि थिए। तर हाम्रो क्यान वा खेलाडीसँग मनमुटाव भने होइन ।’ उनले आफ्ना असन्तुष्टिका विषयमा क्यान सकारात्मक रहेको पनि बताए।

‘हामीलाई कारबाही गरिएको कुरा फिर्ता हुने भयो । साथमा हामीलाई थाहा नै नदिई ग्रेडिङ गरिँदा केही खेलाडी छुटेका थिए। उनीहरूलाई इन्सेन्टिभ दिने क्यान र प्रशिक्षकले बचन दिनु भएको छ।’, उनले राष्ट्रिय टीमका खेलाडीका लागि ग्रेडिङ  पारिश्रमिक मात्र नभएर सम्मान पनि भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *