अध्यक्ष रञ्जिता भन्छिन्ः

‘नागरिक उन्मुक्ति पार्टीले रेशमलाई मात्रै होइन, आमनागरिकलाई पनि उन्मुक्ति दिन्छ’

काठमाडौँ । रञ्जिता श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको छ । रञ्जिता डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका रेशम चौधरीकी धर्मपत्नी हुन् । उनै रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हो । हालका लागि पार्टीको केन्द्रीय समिति २१ सदस्यीय छ । आगामी दिनमा राजनीतिक एजेन्डालाई अगाडि सार्दैगर्दा आवश्यक परेको खण्डमा समितिलाई ठूलो बनाउने रञ्जिता बताउँछिन् ।

टीकापुर घटनामा दोषी ठहरिएपछि रेशम अहिले पनि कारागारमै छन् । उनकै निर्देशनमा नागरिक उन्मुक्ति दर्ता भएको हो । रिहा भएपछि पार्टीको अध्यक्षमा रेशम नै रहने रञ्जिता बताउँछिन् । ‘रेशमजी अहिले कारागारमै हुनुहुन्छ, उहाँ रिहा भएपछि यो पार्टीको अध्यक्षमा उहाँ नै रहनुहुन्छ,’ रञ्जिता सुनाउँछिन्, ‘उहाँ छुट्टिनुभएपछि म उहाँलाई अध्यक्ष पद सुम्पिन्छु ।’

रेशम तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट निर्वाचनमा सहभागी भएर कैलाली क्षेत्र नं. १ बाट अत्याधिक मतसहित विजयी बनेका थिए । तर, त्यसपछि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ कारागारमै छन् । रेशमसँगै उनको परिवारले आफूहरूको रक्षा आफूसम्बद्ध पार्टीले गर्न नसकेको गुनासो गर्दै आएका छन् । यसपछि आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएको रञ्जिता बताउँछिन् । ‘उहाँ (रेशम) को जीवनरक्षा उहाँले योगदान गर्नुभएको पार्टीले गरेन । यसपछि यो पार्टी बनाएका हौँ,’ रञ्जिता भन्छिन् ।

Ranjita Shrestha_ Makalukhabar

जनता समाजवादी पार्टी (जसपा) दुई फ्याक हुँदा रेशम महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा थिए, तर उनले त्यो पार्टी पनि त्यागिसकेका छन् । हुँदाखाँदाको पार्टी छोडेर किन आफैँले पार्टी बनाउनुभयो (?) भन्ने प्रश्नमा रञ्जिता भन्छिन्, ‘उहाँको अपेक्षाअनुरूप पार्टीले कदम नै चालेन, सरकारसँग वार्ता नै गरेन । एउटा निर्दोषीलाई दोषी करार गरिरहँदा पार्टीले हेरेर बस्छ भने त्यो पार्टीको कुनै औचित्य नै भएन नि । त्यसो भएपछि त पार्टीमै बसिरहनुको औचित्य पनि त रहेन नि । यसपछि बरू आफैँले आफ्नोसँगै सम्पूर्ण जनताहरूकाे उन्मुक्तिका लागि नयाँ पार्टी गठन गर्नुभएको हो ।’

त्यसो त रेशमको उन्मुक्तिका लागि मात्रै पार्टी नबनेकोे जिकिर रञ्जिताको छ । ‘त्यसो भन्दै गर्दा यो पार्टीको उद्देश्य रेशमजीको उन्मुक्ति मात्रै होइन, यो पार्टीले खासगरी मधेसी र सम्पूर्ण नागरिकहरूको उन्मुक्तिका लागि काम गर्नेछ । राज्यले अहिले अनागरिककाे दर्जा दिइरहेकाे छ उहाँहरूकाे मुक्तिकाे हेतुले नै याे पार्टी बनेकाे हाे,’ रञ्जिताको भनाइ छ ।

यही उद्देश्यलाई केन्द्रमा राखेर पार्टीले राजनीतिक एजेन्डा तय गर्ने बताउँछिन् रञ्जिता, भन्छिन्— ‘पार्टी नयाँ छ । हामीले समग्र जनताहरूको उन्मुक्ति चाहेर पार्टी बनाएका हौँ । यहीअनुसारको पार्टीले राजनीतिक एजेन्डा तय गर्छ । यसबारे अब छलफल गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *