कर्णालीका दुई महिला खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल निर्माण हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकुद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई दुई लाख र जाजरकोटकी कामना विष्टलाई ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो ।

थाइल्याण्डमा सम्पन्न एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगीतामा जुम्लाकी धावक सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पार्दै ११० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन् । यस्तै पुलिस क्लबको प्रतिनिधित्व गर्दै जाजरकोटकी कामनाले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालको पक्षमा पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

समीक्षात्मक बैठकमा मुख्यमन्त्री शाहीले प्रतियोगिताका विजयी खेलाडीलाई टेलिफोनमार्फत बधाई दिनुका साथै प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने घोषणा गरेका छन् ।  मुख्यमन्त्री शाही प्रदेश खेलकुद परिषद्का संरक्षकसमेत हुन् ।

अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल निर्माण हुने

यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल निर्माण हुने भएको छ । नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल छैन । ‘नेपालमै अहिलेसम्म भलिबल खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डको कवर्डहल नभएको जानकारीमा आएपछि कर्णाली प्रदेश सरकारले बन्दै गरेको प्रदेश गौरवको रंगशालामा कवर्डहल निर्माण गर्ने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसका लागि अहिलेको बन्दै गरेको रंगशालाको संरचनालाई परिमार्जन गर्न प्रदेश खेलकुद परिषद्लाई निर्देशन दिएको छु ।’

परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कभर्डहल नभएकाले कर्णालीमा पहिलो पटक बनाउन लागिएको जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले अहिले भन्दै गरेको प्रदेश गौरवको प्रदेश रंगशालाको संरचनालाई परिमार्जन गरेर काम अघाडि बढाउन निर्देशन दिनुभएको छ,’ सदस्य सचिव सञ्ज्यालले भने, ‘प्रदेश रंगशालामा अब अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कवर्डहल निर्माण शुरू हुन्छ ।’

उनले एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल र बाहिर दुई वटा भलिवल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट गरिने बताए । परिषद्का उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीसँग वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशस्तरीय रङ्गशालामा भलिबल कर्भडहल निर्माण गर्ने, रङ्गशाला निर्माण नहुञ्जेल कालिञ्चोक मैदानलाई वैकल्पिक खेल मैदानको रुपमा प्रयोगमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए ।

यस्तै मंसिर २० गते शिलान्यास भएको रङ्गशालाको हाल माटो परीक्षण कार्य सम्पन्न हुनुका साथै साइट घेरबार, पानीका लागि डिप बोरिङ, विद्युत् जडानको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *