प्रदेश १ : कर्मचारी माग नगर्ने तर, कर्मचारी छैनन् भन्दै भाैँतारिने

विराटनगर । प्रदेश १ मा ४० देखि ४५ प्रतिशत कर्मचारीले प्रदेश चलाउनु परेको सरकारले स्वीकार गरेको छ । प्रदेशका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले प्रदेशमा कर्मचारी अभावको कारण ४० देखि ४५ प्रतिशतबाट प्रदेशको काम धान्नुपर्ने बाध्यता रहेको स्वीकार गरे । प्रदेश १ लोकसेवा आयोगको आयोजनामा दोस्रो अन्तरप्रदेश लोक सेवा आयोगको कार्यशाला गोष्ठीमा बोल्ने क्रममा उनले कर्मचारी अभावको कारण काम गर्न असहज भएको बताए । ‘४० देखि ४५ प्रतिशतको हाराहारीबाट कर्मचारी संचालन गर्नु परेको छ,’ प्रमुख सचिव घिमिरेले भने, ‘समायोजन प्रक्रियादेखिकै समस्या अहिले पनि कायम नै देखिन्छ ।’

कर्मचारी अभाव कम गर्ने र पदपूर्ति गर्नेबारेमा प्रदेश लोकसेवा आयोग र प्रदेश सरकारले स्थानीय तहसँग अन्तरक्रिया गर्नुपर्ने अवस्था रशेको उनले बताए । शुरूमा छुट्टै सरकार भनेर प्रदेश सरकारसँग समन्वय नै नगर्ने स्थानीय सरकार यथार्थताको धरातलमा आएको पनि उनले टिप्पणी गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कर्मचारी भर्नामा अन्तरवार्तालाई अनावश्यक भनेका छन् । ‘लोकसेवामा अन्तर्वार्ताको आकश्यकता छैन,’ मुख्यमन्त्री राईले भनेका छन्, ‘यसले आयोगलाई बिटुल्याउँछ, मिल्ने भए हटाउनुपर्छ ।’ काम गर्ने जनशक्ति, संरचना, निष्पक्ष र सुद्धतालाई नागरिकले स्वीकार गरेको निकाय लोकसेवा आयोग भएकोले यो संस्था नबिटुलिन अन्तर्वार्तालाई नै हटाउनुपर्ने राईको तर्क थियो । न्यायालयले आफ्नो अस्तित्व बचाउन नसकेको अवस्थामा लोकसेवा आयोग निष्पक्ष रूपमा अघि बढेकोमा भने उनले खुसी व्यक्त गरे । उनले लोकसेवालाई घोकन्ते मात्र नबनाई यसको ढाँचा नै परिमार्जन गर्न पनि सुझाव दिए । प्रदेशमा कर्मचारी अभाव बारेमा अनभिज्ञजस्तो देखिएका मुख्यमन्त्री राईले लोकसेवा आयोगको संरचना निर्माण र कर्मचारीको अभावलाई तत्काल पूरा गर्ने बारेमा भने प्रतिबद्धता जनाए । उनले प्रदेश १ मा रिक्त कर्मचारीको दरबन्दीको बारेमा छलफल भइरहेकाे सुनाए ।

लोकसेवाको साख जोगाउनै सकस

सातवटै प्रदेशका लोकसेवा आयोगका आयुक्त सहभागी कार्यक्रममा एकले अर्को प्रदेशमा भएको प्रयोगको बारेमा पनि छलफल र समीक्षा गरिएको छ । लोकसेवा आयोगका पूर्वआयुक्त तथा प्राध्यापक कृष्ण पोखरेलले सत्तामा रहेका नेताहरूले आफ्ना मान्छेलाई काममा लगाउनुपर्छ भन्ने हुँदा समाजले दक्ष र योग्य जनशक्ति नपाउने बताए । लोकसेवा आयोगमार्फत दक्ष जनशक्ति खोज्नतर्फ लाग्ने हो भने तत्काल आफ्ना कार्यकर्तालाई भर्ती गर्ने काम रोक्नुपर्ने र लोकसेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने प्राध्यापक पोखरेलको सुझाव छ ।

दूरदराजकोले रोजगारी पाउने ठाउँ भनेको लोक सेवामार्फत निजामती सेवा रहेको उनको भनाइ छ । ‘लोकसेवा आयोगको हिजोको विश्वास कायम गर्ने दायित्व प्रदेश आयोगमा आएको छ,’ उनले भनेका छन्, ‘प्रदेशका लोकसेवा आयोगहरू राजनीतिक हस्तक्षेपबाट मुक्त हुन खोजेका छन्, यसले सकारात्मक सन्देश प्रदान गरेको छ।’

संघीयतामा सबैभन्दा पहिला प्रदेशलाई स्थापित गर्नुपर्ने भएकोले यो दायित्वअनुसार काम गर्न उनले सुझाव दिए । ‘नयाँ संरचना भनेको प्रदेश हो, काम गरेर देखाउने दायित्व प्रदेशको हो, प्रदेशको राजनिती नेतृत्वले त्यसलाई प्रमाणित गरेर देखाउनुपर्‍याे,’ उनलले भने, ‘प्रदेश लोकसेवा आयोगलाई पत्याएर प्रदेश सरकारले काम दिनुपर्छ रिक्त दरबन्दीमा कर्मचारी नियुक्त गर्न सरकारहरूले सघाउनुपर्छ ।’

संघको कर्मचारी संघप्रति नै केन्द्रित हुने भएकोले प्रदेशले तयार पारेको जनशक्ति प्रदेश प्रति जिम्मेवार हुने भएकोले प्रदेश लोकसेवामार्फत आएका कर्मचारी प्रदेशको लागि बलिया जनशक्ति हुने पोखरेलको भनाइ छ । संघीय लोकसेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदीले ७१ वर्ष लामो लोकसेवा आयोगको साखलाई सुदृढ बनाउँदै प्रदेशका लोकसेवा आयोगहरूले काम गर्नुपर्ने बताए । प्रदेशका लोकसेवा आयोगहरूमा अब्बल नेतृत्व आएको सुनाउँदै सुवेदीले संघीय सरकारले संघीय निजामती ऐन नल्याउँदा प्रदेशका आयोगहरू अन्यौलमा जस्तो देखिएको बताए ।

उनले स्थानीय तहले करारमा कर्मचारी राखेकोमा असन्तुष्टि जनाउँदै संविधानकाे भावनालाई स्थानीय सरकारले असहयोग गरेको बताए । ‘करारमा कर्मचारी धमाधम पहुँचको भरमा नियुक्त हुनु त्यो गलत हो,’ उनले भने, ‘यो विषय तत्काललाई सामान्य भएपनि पछि यसले अप्ठ्यारो अवस्था ल्याउँदैछ ।’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संघीयताकाे मर्मअनुसार संघीयता कार्यान्वयन गर्न निक्कै अप्ठेरो झेल्नुपरेको बताएका छन् । संघीय निजामती सेवा ऐन नबन्दा प्रदेश लोकसेवा आयोगले कामगर्न नसक्दा स्थानीय तहलाई काम गर्न असजिलो भएको उनको भनाइ छ । ‘स्थानीय तहले प्राविधिक कर्मचारी भर्ना गर्न पाउने भनिएको छ, भर्नाको लागि सूचना निकाल्यो भने अख्तियारले पत्र काट्छ,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहले नै नियुक्त गर्न भनिएको छ तर कतिबेला आउँछन् जान्छन पत्तै हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *