राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरू, केही खेलाडी अनुपस्थित

काठमाडौँ । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण शुरू भएको छ । आइतबारदेखि नै शुरू गर्ने भनिए पनि असन्तुष्ट खेलाडीहरू उपस्थित नभएपछि शुरू हुन नसकेको बन्द प्रशिक्षण सोमबारबाट शुरू भएको हो ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र असन्तुष्ट खेलाडीका तर्फबाट पूर्व कप्तान ज्ञानेन्द्र मल्लबीचको बैठकमा क्यानले कप्तान परिवर्तन बाहेकको निर्णय फिर्ता लिने र चार जना खेलाडीलाई ६ महिनासम्म पारिश्रमिक उपलब्ध नगराउने निर्णय फिर्ता लिन क्यान सहमत भएपछि विवाद समाधानोन्मुख भएको दाबी गरिएको छ ।

सोमबारको प्रशिक्षणमा यसअघि अनुपस्थित भएका केही खेलाडीहरू उपस्थित भएका छन् । केहीको भने पीसीआर परीक्षण लगायत प्रक्रिया बाँकी नै रहेकाले केही ढिला भएको क्यानले जनाएको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित केही खेलाडीको पीसीआर परीक्षण गर्न बाँकी छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा सहभागी हुन आज साँझ ६ बजेसम्मको समय दिइएको बताए । तर ज्ञानेन्द्रलगायत खेलाडीहरू प्रशिक्षणमा फर्कने नफर्कने तय भई नसकेको स्रोतले जनाएको छ । अरू खेलाडीले ज्ञानेन्द्रले प्रशिक्षणमा फर्किने निर्णय गरे आफूहरु पनि प्रशिक्षणमा सहभागी हुने नत्र नहुने बताइरहेको स्रोतको दाबी छ ।

कप्तान सन्दीप लामिछाने भने बीग बास प्रतियोगिता खेल्ने क्रममा अहिले अष्ट्रेलियामा छन् । अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाउनुका साथै मल्ल ऐरी, सोमपाल  कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

त्यसपछि चार जना खेलाडी सहित क्यानका ६ जना सदस्यहरूले समेत बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी यो निर्णय गलत भएकाले क्यानले निर्णय सच्याउनुपर्ने बताएका थिए । क्यान खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको कारबाही फुकुवा गर्न तयार रहे पनि कप्तानमा सन्दीप नै हुने कुरामा अडिग देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *