क्रिकेट संघ-खेलाडीबीच सहमति, कप्तान सन्दीप नै

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र असन्तुष्ट क्रिकेट खेलाडीबीच अहिलेको समस्या समाधान गर्ने सहमति भएको छ। विवाद बढ्दै जाँदा बन्द प्रशिक्षण नै प्रभावित भएपछि क्यान, मुख्य प्रशिक्षक र खेलाडीबीच वार्ता भएको हो । वार्तामा क्यानले सेन्ट्रल कन्ट्याक्टको निर्णयबाट पछि हट्ने तर कप्तान सन्दीप लामिछाने नै रहने प्रस्ताव गरेपछि सहमति भएको क्यान निकट श्रोतले जनाएको छ ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई क्यानले अनुशासनको कारबाही गर्दै कप्तान र उपकप्तानबाट बर्खास्त गरि नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गर्ने तथा चारजना खेलाडीलाई ६ महिनासम्म पारिश्रमिक रोक्का गर्ने निर्णय गरेपछि खेलाडी असन्तुष्ट बन्दै प्रशिक्षणका लागि होटलमै अनुपस्थित भएका थिए ।

त्यसपछि क्यानले ज्ञानेन्द्र मल्लसँग काठमाडाैँकाे एक होटेलमा दिउँसो छलफल गरेको थियो । छलफलमा मल्ल र क्यानका पदाधिकारीहरूले आ-आफ्ना कुराहरू राखेका थिए । सहमतिअनुसार सोमबारदेखि सबै खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

आसन्न टी २० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा चारै जनालाई समेटर ३० जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । आइतबारदेखि बन्द प्रशिक्षण शुरू गर्ने तयारी गरिएकोमा चार जना खेलाडीलाई कारबाही गरेपछि अरु खेलाडीहरूले पनि क्याम्प बहिष्कार गरेका थिए ।

अब बस्ने बोर्ड बैठकले खेलाडीहरूलाई अनुशासनको कारबाही गर्दै खेलाडीलाई सन् २०२२ मा शुरूदेखि नै केन्द्रीय सम्झौतामा समावेश गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *