क्रिकेटका १४ खेलाडी होटलमा अनुपस्थित: बन्द प्रशिक्षण प्रभावित हुने सम्भावना

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीचको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरु हुने तय भएपनि क्यान र खेलाडीबीचको विवाद थप चुलिँदा प्रशिक्षण नै प्रभावित हुने खतरा पनि बढेको छ ।

टिमको नयाँ प्रशिक्षकको रूपमा पुबुदु दशानायके काठमाडौँ आइपुगेसँगै आजबाट बन्द प्रशिक्षण शुरु गर्नेगरी प्रारम्भिक चरणमा ३० खेलाडीलाई होटलमा बोलाइएको छ । तर उनीहरूमध्ये १४ खेलाडीले होटलमा रिपोर्टिङ नगरेकाले बन्द प्रशिक्षण प्रभावित हुने जोखिम देखिएको स्रोतले जानकारी दियो ।

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गर्दै २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्याक नगर्ने, मल्ल र ऐरीको क्रमशः कप्तान र उपकप्तान पद खोस्ने, सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गर्ने लगायत निर्णय गरेपछि खेलाडी र क्यानको विवाद बढेको थियो ।

कारबाही गरिएका ४ खेलाडी र क्यानकै केही बोर्ड सदस्यले समेत यी निर्णयहरू फिर्ता गर्न क्यानलाई आग्रह गरेपनि क्यान आफ्ना निर्णयमा अडिग नै रहेपछि विवाद झनै बढेको हो ।

मुख्य प्रशिक्षक दशानायकेसँगको परामर्शमा चारै खेलाडीलाई समेटेर ३० जनाको प्रारम्भिक सूची क्यानले सार्वजनिक गरेको थियो । तर क्यानले शनिबारका लागि होटलमा रिर्पोटिङ गर्न दिएको समयमा कारबाही गरिएका ४ सहित १४ खेलाडी सम्पर्कमा नआएको क्यानको स्रोतले जनाएको छ ।

खेलाडी सम्पर्कमा नआएमा कसरी अगाडी बढ्ने विषयमा क्यानमा छलफल भइरहेको पनि स्रोतले जनाएको छ । केही खेलाडीहरू विभागीय क्लबमा पनि आबद्ध भएकाले विभागमार्फत दबाब दिने तयारी समेत क्यानले गरेको छ ।

कप्तान सन्दीप भने हाल विगबास लिगका लागि अस्ट्रेलियामा रहेका छन् । क्यानले आसन्न टी ट्वेन्टी विश्वकप छनोटको तयारीका लागि पहिलो चरणमा ३० खेलाडी बोलाएको हो ।

यी हुन् होटल नगएका १४ खेलाडी
रिर्पोटिङ नगर्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी, विनोद भण्डारी, सन्दीप जोरा, नन्दन यादव, रोहित कुमार पौडेल, सुशन भारी, करण केसी, विक्रम शोब र कुशल भुर्तेल, कुशल मल्ल र अभिनास बोहरा रहको स्रोतले जानकारी दियो ।

क्यानले क्याम्पमा बोलाएका ३० खेलाडी
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केशी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम शोब, भिम शार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश मुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह छन् ।

छनोट अन्तरगत नेपाल रहेको समूह ‘ए’का खेलहरू आगामी फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *