कविता

हेडमास्टरको चाबुक

निर्दयताको पराकाष्ठा हो यो हेडमास्टर

श्रीपेच झैँ लगाउँछ चुच्चे टोपी
कोट लगाउँछ पौराणिक कान भएको
बेस्सरी छाती कस्छ दौराको तुनाले
हरदम हुन्छ हातमा बेतको छडी

घरी घुँडा टेकाएर
कुखुरा बनाउँछ विद्यार्थीलाई
घरी एक खुट्टा उठाएर
उभ्याउँछ दिनभर
घरी लगाउँछ सिस्नो पानी
निकै क्षुद्र छ यो हेडमास्टर

कहिले मातिएको हुन्छ रक्सीले
आइपुग्छ हल्लिँदै हल्लिँदै
कहिले उँगेर बस्छ कक्षा कोठामा
कहिले हात हालेर जिस्की बस्छ
नयाँ मिससँग
विचित्रको छ यो हेडमास्टर

फुटाउन सकिएन भने अक्षर
किन पढिनस् भन्दै उफ्रिन्छ
गाउन हुन्न कुनै सुरिलो गीत
बोल्न हुन्न आमने–सामने
बर्सिन्छ उसको कोर्रा

भुस्सा भरिएको छ हेडमास्टरको हेडमा
थाहा छैन देशको वास्तविक नक्सा
थाहा छैन व्याकरणको नयाँ नियम
थाहा छैन नैतिक शिक्षाको आफ्नू भार

केवल घोक्न लगाउँछ राजारानीको नाम
केवल गाउन लगाउँछ हिमवत्खण्ड श्लोक
केवल सुनाउँछ इतिहासको मतिभ्रम काण्ड

खोसेर खाइदिन्छ विद्यार्थीको खाजा
लुस्छ विद्यार्थीको गिदी
दबाउँछ विद्यार्थीको मुटु

ठेकेदारजस्तो छ हेडमास्टर
पुँजीवादको चौकीदार
साहुकारको हल्कारा
मालिकको निम्छरो खुट्टा
नेताको जन्मोत्सवमा फूलको गुच्छा बोकेर
पुग्छ लाइन बस्न
र प्रदक्षिणा गर्छ धनुषटङ्कार निहुरेर

पुतली होइन
विद्यार्थीलाई बनाइराख्छ झुसिल्किरा
काट्छ चराको पखेँटा र रमाउँछ
उसकै हातको कला हुन् लुटाहा र बलात्कारी
उसैका उत्पादन हुन् हुतीहाराको जमात

कहिले बस्ने हो बिदामा
कहिले हुने हो रिटायर्ड
र छाउने हो मङ्गल

हेडमास्टरलाई पुच्छर हाल्न चाहन्छन् विद्यार्थी
हेडमास्टरको टुप्पीमा
पिङ् खेल्न चाहन्छन् विद्यार्थी

ठिक उस्तै छ
हाम्रो देशको हेडमास्टर
जसले बनाइरहेछ देशलाई कवाडखाना

निर्दयताको पराकाष्ठा हो यो हेडमास्टर ।

-आज सार्वजनिक हुने सिलवालको ‘कविता सङ्ग्रह’ चिबेचराबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *