बिजुलीको उच्च माग १७ सय मेगावाट पुग्यो, ३ सय मेगावाट आयात हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको जडित प्रणालीमा बिजुलीको उच्च माग १ हजार ७ सय ९९ मेगावाट पुगेको छ । पछिल्लो २ दिनयता बढेको अत्यधिक चिसोका कारण तातोका लागि प्रयोग गरिने विद्युत् उपकरणको प्रयोग बढेपछि उच्च माग समेत बढेको प्राधिकरणले जनाएको छ ।

चिसोका कारण मासिनले पानी तताउने विद्युतीय उपकरण, हिटर, एसी जस्ता उपकरणको प्रयोग बढाउँदा प्रणालीमा माग बढी देखिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

‘अत्यधिक चिसो बसेपछि मानिसले तातोका लागि चाहिने सबै किसिमका विद्युतीय उपकरणको प्रयोग एकै पटक बढी गर्दछन्,’ उनले भने, ‘यसले बिजुलीको उच्च माग ह्वात्त बढाइ दिन्छ । पछिल्लो समय बढेको औद्योगिक मागले पनि विद्युत्को माग अहिले ह्वात्त बढेको देखिएको हो ।’

उक्त माग धान्न भारतबाट २ सय ९६ मेगावाट आयात भइरहेको छ । नेपालको आन्तरिक उत्पादन भने ९ सय ४९ मेगावाट पुगेको छ ।

आन्तरिक उत्पादन मध्ये नेपाल विद्युत् प्राधिकरणका आयोजनाले ३७० मेगावाट उत्पादन गरिरहेका छन् । प्राधिकरणको स्वामित्वमा रहेका विभिन्न कम्पनीहरुले आफ्ना आयोजनाबाट १८८ मेगावाट र निजी ऊर्जा उत्पादकहरुले ३९१ मेगावाट उत्पादन गरिरहेका छन् ।

चिसोका कारण अहिले माग बढेको छ भने अर्कोतिर जाडोमा हिउँ जम्दा नदी प्रवाही आयोजनाको उत्पादन कम भएको छ । चिसोले हिउँ पर्दा वा पग्लिन कम हुँदा नदीमा पानीको बहाब कम भएको र विद्युत् उत्पादन घटेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =