के प्रचण्ड फेरिएका हुन् ?

सातौँ महाधिवेशनमा किरणको आलोचना गरेका प्रचण्डले आठौँमा गरे आफ्नै ‘चिरफार’

काठमाडौँ । ०६९ माघ २० देखि २५ गतेसम्म नेकपा (माओवादी केन्द्र) ले सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍याे । माओवादीले यो महाधिवेशन तत्कालीन उपाध्यक्ष मोहन वैद्य ‘किरण’ ले पार्टी परित्याग गरिसकेपछि गरेको थियो । किरणले महाधिवेशन हुनुभन्दा ५ महिनाअगावै पार्टी त्यागे र आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरे, किरण अझैसम्म त्यही पार्टीमा छँदैछन् ।

000

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पार्टीमा किरणले नै प्रचण्डलाई चुनौती दिएका थिए । पार्टीको विचार र कार्यदिशालाई लिएर ०६५ साल मंसिरमा किरणले खरिपाटी भेला (विस्तारित बैठक) मा समानान्तर दस्ताबेज पेस गरेर अप्ठ्यारो पारेका थिए । पार्टीको डेढ दशकको इतिहासमा पहिलोपटक किरणले समानान्तर दस्ताबेज पेस गरेर नेतृत्वलाई चुनौती दिएका थिए । ‘जसको नीति, उसैको नेतृत्व’ भन्दै पार्टीमा बहस सिर्जना गरेका किरणका कारण प्रचण्ड अल्पमतमा परेका थिए ।

उतिबेला किरणकै कित्ताका मानिएका रामबहादुर थापा ‘बादल’ले साथ दिएपछि प्रचण्डले ‘नेतृत्वमा सुरक्षा’ पाएका थिए । खरिपाटीको त्यो ‘सिनारियो’ पछि पार्टीमा प्रचण्ड सशंकित बनेका थिए । यसलगत्तै प्रचण्डले ०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको नेकपा (एकता केन्द्र)सँग पार्टी एकता गरे ।


प्रचण्डले पार्टीमा प्रकाशहरूलाई भित्र्याएपछि किरण अवाक् भए, यसपछि उनले प्रचण्डलाई पुनः चुनौती दिन सक्ने स्थिति भएन । त्यतिबेला किरणको भनाइ सापटी लिएर भन्नुपर्दा प्रचण्डलाई ‘नीति र विधानमा हिँडाउन’ सक्ने अवस्था बनेन । यसपछि झन्डै ४ वर्ष पार्टीमा चुपचाप प्रायः रहेका किरणले ०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरे । यसलगत्तै माओवादी सातौँ महाधिवेशनमा जुट्यो र माघमा महाधिवेशन गर्‍याे ।

000

यी राजनीतिक परिदृश्यपछि मकवानपुरको हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा किरणको तीव्र आलोचना भयो । खासगरी प्रचण्डनिकट नेताहरू किरणविरुद्ध तीव्र आलोचनामा उत्रिए । त्यसो त प्रचण्डद्वारा महाधिवेशनको बन्दसत्रमा प्रेषित राजनीतिक दस्ताबेजमा समेत तीव्र आलोचना गरिएको छ । कारण यो पनि हा कि- किरणलाई विभाजनको विजारोपण नगर्न प्रचण्डले पटक-पटक ताकेता गरेका थिए ।

भनिन्छ— राजनीति आफैँमात्रै राम्रो भन्ने विधा हो । माओवादी जीवनमा प्रचण्ड-किरणको बीचमा पनि यस्तै हुन्थ्यो । प्रचण्डले किरणलाई रद्दी मान्थे भने किरणले प्रचण्ड खराब भएको दाबी गर्दै हिँड्थे । यहीबीचमा किरणलाई ‘विभाजनकारी’ करार गर्न प्रचण्डले महाधिवेशनको सहारा लिए । सातौँ महाधिवेशनमा प्रचण्डद्वारा प्रेषित राजनीतिक दस्ताबेजमा पार्टीका समीक्षा, तात्कालिक अवस्था र भावी नीतिभन्दा बढी पनि किरणको आलोचनामा बढी खर्चिएको भेटिन्छ ।

४६ पृष्ठ लामो दस्ताबेजमा प्रचण्डले किरणलाई संकीर्ण जडसूत्रवादीदेखि कमजोर गुट हुँदा पार्टी फुटाउने नेतासम्म भनेका छन् । ‘पार्टी कार्यदिशा र अन्तरसंघर्षको विकासको सामान्य सिंहावलोकन’ लाई विश्लेषण गर्ने क्रममा प्रचण्डले भनेका छन्, ‘जनयुद्धको तयारीदेखि नै क. किरणमा जडता र संकीर्णताको समस्या देखियो थियो ।’

त्यसो त प्रचण्डले आफ्नो प्रतिवेदनको बढी पृष्ठ किरणकै आलोचनामा खर्च गरेका छन् । प्रचण्डले त्यसलगत्तै भनेका छन्, ‘उल्लेखनीय कुरा यो छ कि आफ्नो संकीर्ण जडसूत्रवादी सोचाइ र गुट कमजोर हुने हो कि भन्ने डरले क. किरण पक्षले कहिल्यै पनि कम्युनिष्ट क्रान्तिकारीहरूका बीचकाे याे एकता र ध्रुवीकरणको ऐतिहासिक प्रक्रियालाई सकारात्मक र रचनात्मक रूपले लिन सकेनन् ।’

किरणले पार्टीभित्र आफ्नो गुट कमजोर हुने कुरालाई ख्याल राखेरै हुनुपर्छ— प्रकाश नेतृत्वको नेकपा (एकता केन्द्र) सँगको एकतालाई यथाशक्य रोक्न खोजेको थिए । ‘त्यो ऐतिहासिक एकता प्रक्रिया रोक्न क. किरणले निकै जोडबल पनि नगरेका होइनन्, तर कम्युनिष्ट क्रान्तिकारीहरूको पहल रोक्न सकेनन्,’ प्रचण्डकाे दस्ताबेजमा भेटिन्छ ।

अर्को उपशीर्षक ‘जडसूत्रीय संशोधनवाद र वाम विसर्जनवादबारे’ मा प्रचण्डले किरणलाई नै निशाना बनाएका छन् । दार्शनिक-सैद्धान्तिक, राजनैतिक र संगठन गरी तीन बुँदामा यसलाई विश्लेषण गरेका प्रचण्डले उदाहरणको रूपमा समेत किरणलाई चित्रण गरेका छन् । ‘राजनैतिक दृष्टिले क. किरण पक्षमा विद्यमान क्रान्तिकारी लफ्फाजी र विसर्जनवाद अझ छर्लङ्ग देख्न सकिन्छ । पाटी नेतृत्वलाई विद्रोहको कार्यदिशा छाडेको आरोप लगाए तथानाम गाली गरेर नथाक्ने क. किरण पक्ष आफू भने व्यवहारमा गोलमेचबाट संविधान बनाउने, राष्ट्रपतिलाई सरकार अपदस्त गरी निरङ्कुश बन्न याचना गर्ने, साँठगाँठ बढाउने, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने, संविधानसभाको कार्यनीति विरोध गर्ने, एमालेका पनि प्रमुख नेताहरूसँग साँठगाँठ बढाउनेजस्ता अनेकौँ जीवित तथ्यहरूले किरण पक्षको क्रान्तिकारी लफ्फाजी हात्तीका देखाउने दाँत मात्रै भएको तथा चपाउने दाँत भने तुच्छ निम्त पूँजीवादी विसर्जनवाद नै रहेको तथ्य राजनीतिमा सामान्य ज्ञान राख्ने कुनै पनि नेपालीले बुझिसकेका छन्,’ प्रचण्डले भनेका छन् ।

दस्ताबेजमार्फत प्रचण्डले किरणको आलोचनामा यस्तै यस्तै आरोपहरू लगाएका छन् । एक हिसाबले भन्ने हो भने प्रचण्डको समग्र दस्ताबेज नै किरण वरिपरि घुमेको छ ।

000

झन्डै ९ वर्षपछि भएको आठौँ राष्ट्रिय महाधिवेशनमा भने प्रचण्डले नेताहरूको नाम नै तोकेर आलोचना गरेका छैनन् । प्रचण्डले बरु आफ्नै आलोचना गरेका छन् । विद्रोह स्थगन, संविधान निर्माण, सेना समायोजनलगायतका बृहत् शान्ति सम्झौतापछिका समयमा आफूबाट ‘ब्लन्डर’ भएको भन्दै प्रचण्डले आत्मालोचना गरेका छन् ।

सातौँ महाधिवेशनको भन्दा दुई पृष्ठ छोटो दस्ताबेज प्रस्तुत गरेका प्रचण्डले बढीभन्दा बढी आफ्नो आलोचना गरेका छन् । द्वन्द्वकालीन मुद्दा र संक्रमणकालीन न्यायबारे पश्चात्ताप गरेका प्रचण्डले नेतृत्वकै गल्तीले पार्टी कमजोर बनेको स्वीकारेका छन् ।

नेताहरूले नेतृत्वको मनोगत र एकल निर्णयका कारण पार्टी खुम्चिएको र समकालीन नेताहरू आफूले गुमाएको प्रचण्डले प्रत्यक्ष वा परोक्ष रूपमा स्वीकार गरेका छन् । शान्ति सम्झौता (०६३ मंसिर ५) पछि पनि नेतृत्व (प्रचण्ड आफैँ) कै मुखमा संविधान र मनमा विद्रोह हुँदा पार्टी जीवनमा खती भएको प्रचण्डले स्वीकारोक्ति छ ।

त्यसो त सातौँ महाधिवेशन हुनुभन्दा अघि किरणले छोडेजस्तै ८औँ महाधिवेशनपूर्व रामबहादुर थापा ‘बादल’ टोपबहादुर रायमाझी, लेखराज भट्ट मणि थापा लगायतका नेताहरूले पार्टी छाडेका छन् । तर, किरणमाथि खनिएजसरी उनीहरूमाथि प्रचण्ड खनिएका छैनन् । बरु उनले आफ्नो ४४ पृष्ठ लामो दस्ताबेजमार्फत प्रचण्डले पार्टीलाई वैचारिकीकरण, समाजवादी क्रान्ति, जलवायु परिवर्तनलगायत बहसको विषय बनाएका छन् ।

बरु समूहगत रूपमा दस्ताबेजमाथि छलफल गरेका प्रतिनिधिहरूले बादललगायतका नेताहरूलाई ‘गद्दार’ घोषणा गर्न माग गरेका छन् । प्रचण्ड भने दस्ताबेजकै सन्दर्भ मौनप्रायः छन् । ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ उपशीर्षकमा पनि प्रचण्डले नेताहरूको नाम लिएका छैनन् । बरु उनले पार्टी विभिन्न टुक्राहरूमा विभाजन भयो भन्ने शब्दावली मात्रै प्रयोग गरेका छन् । यसै पनि प्रचण्डले पछिल्लो समय पूर्वमाओवादी ध्रुवीकरण गर्न खोज्दैछन् । यसकारण पनि प्रचण्डले नेताहरूलाई निशाना नबनाएका हुन सक्छन् ।

जबकि— अहिले सातौँ महाधिवेशनमा सँगै रहेका डा. बाबुराम भट्टराईलगायतका नेताहरू साथमा छैनन् । यसरी सातौँ महाधिवेशनको राजनीतिक दस्ताबेजमार्फत किरणको आलोचना गरेका प्रचण्डले ९ वर्षपछि लेखेको दस्ताबेजमा आफैँलाई चिरफार गरेका छन् ।

प्रचण्डले आफूलाई सुधारेका हुन् ?

माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेल प्रचण्डले विस्तृत रूपमा सोचेको बताउँछन् । यसको पुष्टि जारी महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजले गरेको उनको भनाइ छ । ‘उहाँको जारी महाधिवेशनको राजनीतिक दस्ताबेजले त्यो कुरा बताउँछ । उहाँले पृथक् र विस्तृत रूपमा सोच्न थाल्नुभयो,’ उनले भनेका छन् ।

त्यसो त आमवृत्तमा प्रचण्डजत्ति आत्मालोचना गर्ने नेताहरूको संख्या कम भएको चर्चा चल्न थालेको छ । अर्का एक नेता थप्छन्— ‘प्रचण्ड अब पार्टी, देश र समाजवादी क्रान्तिको पक्षमा उभिनुभयो । यसको पक्षपोषण उहाँको दस्ताबेजले गरेको छ । उहाँले यसपालिको दस्ताबेज पूर्णतः स्वीकार्य छ ।’ प्रचण्ड सुध्रिएका हुन् (?) भन्ने प्रश्नमा ती नेता प्रतिप्रश्न गर्छन्, ‘प्रचण्ड बिग्रेका थिए र ? जे होस् उहाँले फरक ढङ्गले काम गर्नुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *