अमेरिकासँग ‘प्रभावकारी वार्ता’ हुनेमा पुटिन विश्वस्त

मस्को । युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ ।

दुई मुलुकका नेताबीच बिहीबार टेलिफोन वार्ता हुनुभन्दा केही घण्टाअघि मस्को र वासिङ्टनबीच ‘प्रभावकारी वार्ता’ सम्भव छ भन्नेमा आफू ‘विश्वस्त’ रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा पुटिन र बाइडेनबीच एक महिना पनि नबित्दै दोस्रो टेलिफोन वार्ता तय भएको हो ।

‘म विश्वस्त छु कि हामी आपसी सम्मान र एक-अर्काको राष्ट्रिय हितको विचारका आधारमा एक प्रभावकारी रूसी-अमेरिकी वार्ता गर्न सक्छौँ,’ विश्व नेताहरूलाई क्रिस्टमस बिदामा सकारात्मक सन्देश दिँदै रूसी नेता पुटिनले भनेको क्रेमलिनले जनाएको छ ।

एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले संवाददाताहरूसँग भने, ‘हामी कूटनीति र कूटनीतिक मार्ग अगाडि बढाउनका लागि तयार छौँ ।’

यदि रूस युक्रेनमा थप आक्रमणका साथ अघि बढ्यो भने विश्व समुदायले उचित प्रतिक्रिया दिन तयार रहने कुरा वार्तामा बाइडेनले पुटिनलाई बताउने अमेरिकी अधिकारीले बताएका छन् ।

पूर्वसोभियत राज्य युक्रेन नजिकै रुसी सेनाको चलखेलले वासिङ्टनको  चिन्ता बढाएको छ । मस्कोले यस आरोपलाई अस्वीकार गरेको छ भने पश्चिमले यहि महिनाको सुरुतिर प्रस्तुत गरेको व्यापक सुरक्षा मागहरूमा रूस सहमत हुने आशा गरेको बताएको छ ।

रूसी अधिकारीले बताएअनुसार उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले नयाँ सदस्यहरू स्वीकार्नु नहुने र संयुक्त राज्य अमेरिकाले पूर्वसोभियत राज्यमा नयाँ सैन्य आधारहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *