अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु, तीन जना बेहाेस

सुर्खेत । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तरगतको खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगञ्जमा कार्यरत धर्मप्रसाद भट्टराईसहित उनको परिवारका चारजनाको निसासिएर मृत्यु भएको छ । उनीहरु भेरी अस्पतालको क्वाटरमा बस्दै आएको र बुधबार राती कोठामा सुतेका उनीहरुको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा मेडिकल स्टोरका कार्यालय सहयोगी भट्टराई, उनका तीन महिनाका छोरा ईप्सन, ४५ वर्षीया आमा कोकिला र २७ वर्षीया दिदी नन्दकली भट्टराई रहेकाे बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए । कालिकोटको खडाचक्र नगरपालिका-६ पिलीका भट्टराई परिवारसहित अस्पतालको आवास गृहमा बस्दै आएका थिए ।

कोठामा ग्यास पोइजन भएर उनीहरुको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘बन्द कोठाभित्र टिनको बाकसमा कोइला बालेको भेटिएको थियो’  प्रहरी निरीक्षक घर्तीमगरले  भने, ‘आगो ताप्ने क्रममा बन्द कोठा भएकोले ग्यास पोइजन भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

सँगै रहेका थप तीनजना बेहाेश अवस्थामा भेटिएकोमा एकजनाको होस आएको र तीनैजनाको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । श्रीमती सुशीला भट्टराई, छोरा विवश भट्टराई र भाइ नरेन्द्र भट्टराई घाइते अवस्थामा रहेका छन् । उनीहरू नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको टोली नेपालगञ्जतर्फ लागेको छ । भट्टराईको परिवारको मृत्युका विषयमा बुझ्न टोली त्यसतर्फ जाँदै गरेको निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *