कहिले पाउलान् कलाकारले पारिश्रमिक ?

काठमाडौँ । चलचित्र ‘चपली हाइट-२’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री परमिता आरएल राणाको इन्स्टाग्राम स्टोरीले धेरै कलाकारको पीडा बोलेको छ । उनले आफूले पारिश्रमिक नपाएको पीडा पोखेकी छन् । मोडलिङबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनले पारिश्रमिकलाई लिएर धेरै तनाव लिएको देख्न सकिन्छ ।

चलचित्रमा अभिनय र मोडलिङ गरेको पारिश्रमिक समयमा नपाएको गुनासो गर्दै उनले पारिश्रमिक नदिने सबैको नाम सार्वजनिक गर्ने चेतावनी समेत दिएकी छन् । एक वर्षपछि मात्रै पारिश्रमिक पाएको तीतो अनुभव संगालेकी उनी यो क्षेत्रमा आउने नयाँ प्रतिभालाई पारिश्रमिकको विषयमा मानसिक रूपले तयार भएर आउन आग्रह गर्छिन् ।

उनले चलचित्र रोजमा समेत पारिश्रमिक नपाएको हल्ला चलेको थियो । यही चलचित्रमा प्रदीप खड्का र निर्माताबीच ठूलै ‘लफडा’ भएको थियो । प्रदीपले दस लाख रुपैयाँ पारिश्रमिक नपाएको र निर्माता नै गायब भएको बताएका थिए ।

समयमा पारिश्रमिक नपाउँदा कलाकारले चलचित्र प्रमोसनको समयमा साथ नदिएको देखिन्छ । निर्माताले चलचित्रमा काम गरेर प्रमोसनमा साथ नदिएको आरोप लगाउँदै गर्दा औलामा गन्न मिल्ने कलाकारले मात्रै आफूले पारिश्रमिक नपाएको बताउने गर्छन् ।

प्रदर्शन मिति पटक पटक सरिरहेको चलचित्र ‘चपली हाइट ३’ को प्रमोसनमा पनि यस्तै समस्या देखिएको छ । कलाकारले समयमा पारिश्रमिक नपाएको गाइँगुइँ चले पनि प्रस्ट अभिव्यक्ति कसैले दिएका छैनन् ।

चलचित्र र निर्माता अर्जुनकुमारका लागि ‘लक्की चार्म’ मानिने अमिर गौतमले चलचित्रमा पारिश्रमिक नपाएको आशयको स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । रातभरि रुझेर काम गर्दा पनि पारिश्रमिक नपाएको उनको गुनासो थियो ।

उक्त पोस्टमा सोही चलचित्रका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले समेत पारिश्रमिक नपाएको शङ्कालाई बल पुग्ने खालको कमेन्ट गरेका छन् । चलचित्रकै अर्की अभिनेत्री सुपुष्पा भट्ट पनि सक्रिय रूपमा चलचित्रको प्रमोसनमा देखिएकी छैनन् । यसको कारण समेत पारिश्रमिक नै भएको गाइँगुइँ चल्न थालेको छ ।

करिब २ वर्षअघि अभिनेता पल शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै पारिश्रमिक समयमा नपाएको गुनासो गरेका थिए । उनले २५ लाख पारिश्रमिक लिन बाँकी रहेको बताउँदै आफ्नो आय श्रोत नै यही भएको कुरा निर्माताले नबुझेकोमा दु:ख व्यक्त गरेका थिए । चलचित्र प्रदर्शनको वर्षौँ बितिसक्दा समेत कलाकारले पारिश्रमिक नपाउने गरेको उनले बताएका थिए ।

कलाकार राजाराम पौडेलले भुवन केसीको चलचित्र क्याप्टेनको समयमा पारिश्रमिक नपाएर विवाद नै सिर्जना भएको थियो । चलचित्र ‘पुरानो बुलेट’ बाट आधा मात्रै पारिश्रमिक पाएको गुनासो वर्षा सिवाकोटीले पनि गरेकी थिइन् ।

नयाँ निर्मातासँग काम गर्दा पैसा नउठ्ने बताउने उनी अहिले भने नयाँ निर्माताको रोजाइमा आफू पर्ने बताउन थालेकी छन् ।मुख्य भूमिकामा देखिने कलाकारको पारिश्रमिक राम्रो नै हुने गरेको बताइन्छ ।

उनीहरूले छायांकन अगावै केही प्रतिशत पारिश्रमिकसमेत पाउने गरेका छन् । तर‚ छोटो भूमिकामा देखिने कलाकारको अवस्था अझ दयनीय रहेको यो क्षेत्रलाई नजिकबाट नियाल्नेहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *