आजबाट मौसममा क्रमिक सुधार, जाडो भने बढ्ने

काठमाडौँ । अहिले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात जारी छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको हो ।

देशभर चिसो पनि बढेको छ । काठमाडौँमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

काठमाडौँमा भने आज वर्षाको सम्भावना न्यून रहेको छ । आजराति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्क रहन विभागले आग्रह गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आजबाट मौसममा सुधार हुने
मौसमविद् बासीकाअनुसार आजबाट मौसममा सुधार आउने भएको छ । उपत्यकाको मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने देखिएको छ ।

तर, बुधबार दिनभरि घाम नलागेका कारण आज तुलनात्मक रूपमा जाडो बढ्नेछ । त्यसैले पानी नपरे तापनि बालबालिका तथा ज्येष्ठ नागरिक सकेसम्म घरभित्रै बस्न स्वास्थ्यविद्हरूको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *