व्यवसायीका समस्या समाधान गर्न विराटनगरमा बिजनेस क्लिनिक सञ्चालनमा

विराटनगर । विराटनगरमा व्यवसायका समस्याहरूको समाधान गर्न सिआईएम बिजनेस क्लिनिक कार्यान्वयनमा आएको छ ।

उद्योग संगठन मोरङले उद्योग व्यवसायको समस्या समाधान गर्नका लागि गतसाता काठमाडौँमा भएको छलफलपछि बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो ।

गतसाता संगठनको प्रतिनिधिमण्डलले उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टीमसमक्ष बिजनेस क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरूका १०४ वटा विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धित समस्याहरू प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो ।

क्लिनिकमा उद्योग प्रतिष्ठानका समस्या समाधानको सहजिकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तीन तीन महिनामा संगठन र मन्त्रालयबीच समस्या समाधानमा सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न र सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्याहरूलाई कार्यान्वयन तहमा लैजाने, नीतिगत तहसँग छलफल गर्ने, उद्योग विशेषका समस्याहरु ऊर्जा, कर, राजस्व, श्रम, भन्सार, निर्यात‚ आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकारका विषयहरूको वर्गीकरण गरेर समाधान निकालिने अध्यक्ष प्याकुरेलले बताए ।

संगठनले बिजनेस क्लिनिकका सम्बन्धमा संघीय सरकारका अर्थसचिवसमक्ष गतअसोज १५ गते बैठक गरी क्लिनिकको शुभारम्भ गरेको थियो । त्यस्तै क्रमशः प्रदेश र स्थानीय सरकारहरूसँग समेत आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण आयामका रुपमा रहेका कार्यक्रमहरूको दिगो एवं सफलतापूर्वक कार्यान्वयन गर्न सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *