सेन्ट्रल जोन भलिबल प्रतियोगिता

उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैँ । नेपाली महिला भलिबल टीम बंगलादेशको ढाकामा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दै छ । साबिक विजेता नेपाल उज्वेकिस्तानसँग उपाधि रक्षाका लागि कोर्टमा उत्रने छ ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा नेपाल र उज्वेकिस्तानबीच ११:१५ मा खेल सुरु हुने छ । लगातार दोस्रो पटक उपाधि जित्ने ध्याउनमा रहेको नेपाली महिला टीम समूहचरणका सबै खेलमा जित्दै आत्मविश्वासका साथ कोर्टमा उत्रने छ ।

नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने दाउमा रहँदा उज्वेकिस्तान भने समुहचरणको बदला लिँदै उपाधि जित्ने ध्याउनमा हुने छ । समूहचरणमा नेपाले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपाल समूहचरणका सबै खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो भने उज्वेकिस्तान महत्त्वपूर्ण खेलमा श्रीलंकालाई पराजित गर्दै समूह उपविजेताका रूपमा फाइनल पुगेको हो । यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग आज नै प्रतिस्पर्धा गर्दै छ । नेपाल र उज्वेकिस्तान बिचको खेल अपराह्न १:१५ बजे सुरु हुने छ । समूहचरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *