उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल एसियाली सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल एक खेलअगावै फाइनल पुगेको हो ।

नेपालले बलियो मानिएको उज्वेकिस्तानविरुद्ध पहिलो सेटबाटै खेलमा पकड बनाएको थियो । पहिलो सेट सहज रुपमा २५-२० ले खेल आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेटमा २५-२३ र अन्तिम तथा निर्णायक सेटमा २५-१४ ले खेल जितेको थियो।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टीमको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबीचको खेलले तय गर्नेछ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार व्यहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन । नेपालले आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३-० तथा तेस्रो खेलमा बंगलादेशलाई पनि समान ३-० कै सेटमा पाखा लगाएको थियो । चौथो खेलमा उपाधि दाबेदार उज्वेकिस्तानलाई हराएसँगै नेपाल समूहको अन्तिम खेल बाँकी हुँदै फाइनलमा पुग्न सफल भयो ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्दा तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल २९ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *