परिवर्तनका ‘सास’

काठमाडौँ । सास अर्थात् ठण्ड बहादुर अधिकारी लामो समय विदेश बसाइपछि नेपाल फर्किएर कला क्षेत्रमा प्रवेश गरेका छन् । केही समय यता परिवर्तन थिएटरसँग जोडिएका छन् उनी । उनकै निर्देशनमा ३ नाटक ‘गाउँ गाउँमा सासको नाट्य अभियान’ मार्फत मञ्चन गरिएको छ ।

विभिन्न जिल्लामा देखाइएका यी नाटकमार्फत समाजमा महिलाको स्थिति चित्रण गर्ने उद्देश्य रहेको थियो । ‘भाउजूको व्यथा’, ‘आरुवारिको फूल’ र ‘नाङ्गो बस्ती’ले दर्शकको मन मात्रै जितेन, कोरोनाको कारण काम नपाएका केही कलाकर्मीलाई काम समेत दियो । कोरोनाले थिलथिलो भएको कला क्षेत्रमा केही गर्नकै लागि अप्ठ्यारो परिस्थितिमा सास र टीमले यो अभियान सुरु गरेका थिए । मोहन निरौला र विश्व दीप घिमिरेको सहयोगमा यो अभियान चलेको हो ।

यी तीनै नाटकको विषय, पहिरन, लवज र लवाइखवाइमा उनले नेपाली मौलिकतालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

अझै पनि श्रीमान् गुमाएकी महिलाको अवस्था चित्रण गर्न उनले भाउजुको व्यथाको सहारा लिए । रोजगारीका लागि बिदेसिने र शहर पस्ने प्रवृत्तितर्फ इंकित गर्दै निर्माण गरिएको नाङ्गो बस्तीमा समेटिएको एक दृश्य जहाँ मलामी जानेसमेत पुरुष नभएको घटना तत्कालीन नेपाली समाजको चित्रण हो । विशुद्ध नेपाली भाषाको प्रयोग गरेर उनले नेपाली भाषा जोगाउन सानोमात्रै भए पनि पहल थालनी गरेका छन् ।

विगत
सासको बाल्यकाल भारतमा बितेको थियो । नयाँ कुरा सिक्ने समय नै भारतमा बितेकोले उनले त्यहाँको संस्कारलाई पनि मजाले बुझ्ने मौका पाए । दुर्गा पूजा, गणपति विसर्जन, दिवाली, राम नवमीलगायतमा गरिने नृत्य र त्यही क्रममा देखाइने नाटकले उनलाई आकर्षित गर्‍यो । अभिनय र कलाप्रतिको आकर्षण त्यहीँबाट सुरु भएको थियो । यसको नतिजा नेपाल फर्किएर झापामा स्कुलमा हुने कार्यक्रमसँगै सडक नाटकमा भाग लिन थाले ।

एसएलसी सकेर उनी काठमाडौँ आए । त्रिचन्द्र क्याम्पस पढ्न थाले । कला निकट मानिसको सङ्गत भयो । मनोज गजुरेललगायतका साथीको सङ्गत भयो । समूह बनाएर उनीहरू विभिन्न जिल्लामा नाटक देखाउन थाले ।

समय उस्तै रहेन ।  उमेर बढेसँगै परिवारले केही अपेक्षा गर्न थाल्यो । आफैलाई पनि कलाकारिता मात्रै गरेर जीवन चल्दैन भन्ने लाग्यो । त्यसपछि उनले बिदेसिने निर्णय गरे । दुई दशक बढी विदेश बसेको अनुभव छ उनीसँग । ४० भन्दा बढी देश पुगेका छन् उनी । तर नेपाल जस्तो कहीँ लागेन भन्छन् । नेपाल बसेर घर खर्च चलाउन सक्ने व्यवसाय भने हेरिरहेका छन् उनले । त्यो बाहेकको समय भने उनी बाल्यकालमा गरेको रहर र युवा अवस्थामा देखेको सपना पुरा गर्दै छन् ।

आगामी योजना
सासको आगामी यात्रा चलचित्र निर्माणतर्फ छ । व्यावसायिक चलचित्र निर्माण गर्ने योजनामा रहेका उनी चलचित्र मार्फत नै केही मात्रामा भए पनि संस्कृतिको संरक्षण गर्ने योजनामा छन् । किन त ? ‘कक्षा ९मा पढ्ने मेरो छोराले गाई र गोरु नै छुट्याउदैन । यो मेरो कमजोरी हो । उनीहरूलाई नेपाली संस्कृति र भाषाको थोरै ज्ञान छ । कम्तीमा मैले मेरो चलचित्र र नाटक मार्फत दुई जनामा मात्रै भए पनि संस्कृतिको ज्ञान दिन सके भने हामी नेपाली हुनुको प्रमाण कालान्तरसम्म रहिरहने छ‚’ उनले भने ।  र, यो अभियान हो, जुन शताब्दी सम्म चलिरहने छ । हाम्रो अभियानको उद्देश्य नै यही हो ।’

यसै अनुरूप ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ सचिवालय सदस्यका रूपमा सास जोडिएका छन् । सासको समेत लगानी रहेको चलचित्र ‘तिम्रो हुने कैले’ प्रदर्शनमा त आयो तर दर्शकले आएको गएको पत्तै पाएनन् । सासले धेरै साहसिक योजना त बनाएका छन् । तर कति योजना पुरा होलान् र उनको सोचलाई चलचित्र र नाटकको रूपमा उतार्दा उनको सोच अनुरूपको बन्ला नबन्ला त्यो हेर्न भने पर्खिनपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *