विद्यार्थीको लिङ्ग बाँध्ने होस्टेल नै अवैध

पोखरा । केही दिनअघि पोखराको एक होस्टलकी वार्डेनले विद्यार्थीको लिङ्ग बाँधिदिएको समाचार मकालुखबरले लेखेको थियो । उक्त समाचारपछि होस्टेल वार्डेनको चौतर्फी विरोध भयो र उनी समातिइन् । अहिले न्यू लाइफ होस्टेलकी वार्डेन जानुका नेपाली प्रहरी अनुसन्धानमा छिन् ।

खोज्दै जाँदा उक्त होस्टेल नै अवैध भएको भेटिएको छ । घटनाबारे थप अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली पुगेर छानबिन गर्दा होस्टेल नै अवैध रहेको भेटिएको हो । होस्टेल सञ्चालक राहुल नेपालीले कोभिड सङ्क्रमणको दोस्रो लहरपछि होस्टेल सञ्चालनमा ल्याएको स्विकारेका छन् ।

हिमालयन गुडलाइफ काठमाडौँले पोखरामा ३ तले भवन भाडामा लिएर बिना दर्ता चलाएको पाइइकाे हो । यहाँ ९ विद्यार्थी आश्रित छन् । ‘होस्टेल सञ्चालनको दर्ता छैन । इजाजत बिना सञ्चालित होस्टेलमा बालबालिका राख्दा पनि अनुमति लिइएको पाइएन,’ आयोगका अधिकृत टंक खनालले मकालुखवरसँग भने, ‘अरू अध्ययन भइरहेको छ । हामीले पनि थप वास्तविकता बुझ्दै छौँ ।’

होस्टेलबाट बालबालिका भने राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा उद्धार गरेर सिविनले राखेको छ । होस्टेललाई बिस्तारै बालगृहको रूपमा सञ्चालन गर्ने तयारी रहेको सञ्चालकको भनाई छ । होस्टेल दर्ता नभए पनि पालनपोषण भने राम्रो गरेको परिषद्का समन्वय अधिकारी बद्री वाग्लेले बताए ।

‘अहिले तत्कालका लागि बाल हेल्पलाईन १०९८ मा राखिएको छ । अब कसरी व्यवस्थापन गर्ने भन्ने छलफल हुँदैछ,’ उनले भने, ‘परिवार भएकालाई पुनस्थापित गर्ने र अरूलाई कतै सिफ्ट गर्ने सोच छ । ७ कक्षामा पढ्ने ३ जनालाई समस्या छ । उनीहरूलाई पोखराकै कुनै बालगृहमा राख्ने तयारी गरेका छौँ ।’

होस्टेल सञ्चालकलाई के कारबाही हुन्छ भन्ने कुनै टुंगो छैन । ‘कुन केस एक्टिभ हुन्छ भन्ने बुझ्दै छौँ । होस्टेल त दर्ता छैन नै । बच्चाकै पनि केही डकुमेन्ट छैन । ल्याउँदा कहाँबाट ल्याएको हो र कसका बच्चा हुन् भन्ने छैन,’ वाग्लेले भने, ‘सामान बेच्न राखेजस्तो भयो । सञ्चालकहरू भागेको चाहिँ छैन । कानुनी कारबाही भोग्न तयार रहेको बताउँछ । अनुसन्धानले जे देखाउँछ, त्यही कारबाही हुन्छ ।’

केही दिनअघि बच्चाले ओछ्यानमा पिसाब गरेको र त्यसलाई रोक्न होस्टेल वार्डेनले लिङ्ग नै बाँधिदिएको घटनाबाट थप खुलासा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *