ओछ्यानमा पिसाब फेरेको भन्दै वार्डेनले बालकको लिङ्ग बाँधिदिएपछि…

पोखरा । बालबालिकाको उमेरमा ओछ्यानमा पिसाब गर्नु सामान्य नै मानिन्छ । त्यसो भए ओछ्यानमा पिसाब गर्नु अपराध हो त ? उनीहरू नियन्त्रण गर्न सक्दैनन्, त्यसैले त बालबालिका भनिन्छ ।

ओछ्याउनमा पिसाब गरेकै निहुँमा पोखरामा भने एक बालकको लिङ्ग बाँधिएको छ । पढ्नका लागि होस्टेल बसेका डोल्पाका ५ वर्षीय एक बालकलाई वार्डेनले नै पिसाब गर्ने लिङ्ग बाँधिदिएकी छिन् । विद्यार्थीको खानपान, रहनसहन र पडाइबारे ख्याल राख्नु राख्नुपर्ने पोखरा १५ गलेश्वरचोकमा रहेको न्यु लाइफ होस्टेलकी वार्डेन जानुका नेपालीले नाबालक रेमन बुढालाई यातना दिएकी हुन् ।

हिमालयन गुडलाईफ काठमाडौँद्वारा सञ्चालित होस्टेलकी वार्डेन नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब गरेपछि रेमनको लिङ्गमा रबरले बाँधिदिएकी हुन् । रेमन जस्तै अन्य विद्यार्थीलाई पनि यसैगरी रबरले बाँध्ने गरेको विद्यार्थीहरू बताउँछन् । यो स्कुलमा अभिभावक नभएका बालबालिका पढ्छन् । रेमनसँगै ९ बालबालिका बस्छन् । नर्सरीमा पढ्ने उनलाई सोमबार राती लिङ्गमा रबर बाँधेको फोटो सार्वजनिक भएपछि हङ्गामा भएको छ ।

कसरी थाहा भयो ?
सोमबार पढाउन शिक्षिका सिर्जना कँडेल कक्षामा गइन् । एकजना विद्यार्थीले लिङ्ग बाँध्न हुने भन्दै रबर टिपेर शिक्षिकालाई दिए । उनी आश्चर्यचकित भइन् । यस्तो कुरा कसले भन्यो र कसरी आयो भन्दै खोजी हुन थालेपछि विद्यार्थीले रेमनको लिङ्ग बाँधेको देखाइदिए । रेमन रोइरहेको थियो । लिङ्ग बाँधिएको अवस्थामा थियो भने, पेट फुलेको थियो ।

यसको खोजी हुन थाल्यो । होस्टेल वार्डेन जानुकाले बाँधेको घटना सार्वजनिक भयो । रेमनले समेत उनै वार्डेनले बाँधिदिएको बताएका विद्यालयले जनाएको छ । उनले होस्टेलमा रहेका छात्रालाई समेत यस्तै दुख दिने गरेको बताइएको छ । छात्रालाई भने ओछ्यानमा पिसाब गरे मैनबत्ती बालेर झोसिदिने गरेको पीडितहरूको आरोप छ । जानुकाले गल्ती स्विकारेकी छैनन् । होस्टेल सञ्चालक समितिले तत्कालै बोलाएर सोधपुछ गर्दा आफूले यस्तो नगरेको बताएकी छिन् ।

होस्टेल सञ्चालक राहुल नेपालीले घटनाको जिम्मेवारी लिँदै अब आइन्दा घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । ‘नर्सरीमा अध्ययनरत रेमन बुढालाई ओछ्यानमा पिसाब गरेको निहुँमा प्रजनन अङ्गमा रबरले बाँधिएको अवस्थामा विद्यालय आएको पाइयो,’ सोमबार गरिएको सम्झौता पत्रमा भनिएको छ, ‘अब आउँदा दिनमा आफ्नो संस्थामा आश्रित बालबालिकालाई यस्ता घटना घट्न नदिने प्रतिबद्धता सञ्चालक राहुल नेपालीले गर्नुभएको छ । अब यस्तो घटना

दोहोरिएको पाइएमा जे कारबाही भोग्न पनि तयार भएको ब्यहोरा जानकारी गराइन्छ ।’

यो सम्झौता घटना लुकाउने सर्तमा गरिएको विद्यालय निकट श्रोतले जनाएको छ । जघन्य अपराध हुँदा समेत सञ्चालक समिति र शिक्षकहरू बिचमै थामथुम गर्ने प्रयास गरिएको छ । सञ्चालक राहुलले भने जानुकालाई होस्टेलबाट निकाल्ने मौखिक बचन दिएका छन् । प्रधानाध्यापक जुना थापा सहितको रोहवरमा यो सम्झौता गरिएको हो ।

प्रतिक्रिया

One thought on “ओछ्यानमा पिसाब फेरेको भन्दै वार्डेनले बालकको लिङ्ग बाँधिदिएपछि…

  1. Plz yesto वाड्न ले फेरि नि यस्तै गल्ती अरु गर्न सक्छन् , दिलमा दया र माया नभएको ढुङ्गा भन्दा नि कठोर यस्तो मान्छेलाई जति भत्सर्ना गरे नि कम हुन्छ , यस्तो वाडन लाई तुरुन्त निकाल्नु उत्तम होला ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *