एमाले सुर्खेतले ताेक्याे अधिवेशनको मिति, आठ वटा समिति गठन

सुर्खेत । नेकपा एमाले सुर्खेतले आठौँ जिल्ला अधिवेशनको मिति तोकेको छ । जिल्ला अधिवेशन आगामी पुस २३ र २४ गते गर्ने  एमाले सुर्खेतले । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पुस १७ गते भित्र वडाले छनोट गरिसक्नु पर्नेछ ।

वडाबाट प्रतिनिधि छनोट गर्दा अन्य जाती तथा जनजाति क्षेत्रबाट ३० जना पार्टीका क्रियाशील सदस्य बराबर १ जना प्रतिनिधि र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधि छनोट गरिने एमाले सुर्खेतले जनाएको छ ।

९ स्थानीय तह र ९९ वटा वडा रहेको सुर्खेतमा एक हजार दुई सय ८० जना पार्टीका क्रियाशील सदस्य रहेका एमालेले दाबी गरेको छ । पार्टीका जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीका अनुसार अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने जानकारी दिए ।

शाहीले भने, ‘जिल्ला अधिवेशनका लागि सर्वसम्मतीको प्रयासबाट प्रतिनिधि छनोटको प्रक्रिया शुरू गर्ने तयारी भइरहेको छ । ‘प्रतिनिधि छनोट गर्दा सकेसम्म सर्वसम्मतीको प्रयास गर्नेछौँ, सर्वसम्मत हुन नसकेका वडाहरूमा निर्वाचन गरेर भए पनि प्रतिनिधि छनोट हुनेछन् ।’

साथै अधिवेशनलाई थप मर्यादित र व्यवस्थित बनाउन एमालेले अधिवेशन सम्पन्न गर्न समिति समेत गठन गरेको जनाएको छ । पार्टीको जिल्ला कमिटी बैठकबाट आठ वटा समिति गठन गरेको हो ।

पार्टी अध्यक्ष समेत रहेका ध्रुवकुमार शाहीको नेतृत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृतबहादुर बिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र प्रचार–प्रसार समितिको संयोजकमा गंगाराम तिमिल्सेनाको जिम्मेवारी तोकिएको छ ।

यस्तै, हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समिति संयोजकमा पूर्ण प्रसाद पौडेल, स्वयंसेवक परिचालन व्यवस्थापन समिति संयोजकमा चतुर्भुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशीला विकलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै नेकपा एमाले सुर्खेतले पार्टीको जिल्ला कमिटीको सचिवालयमा सदस्य थप गरेको छ । जिल्ला कमिटी सदस्य समेत रहेका डम्मर तिवारी, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, ऋषी गिरी, खड्क भट्टराई, पूर्ण प्रसाद पौड्याल र यज्ञ ढकाललाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो ।

यसैगरी, टिकाराम सोमै, सुशीला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई समेत जिल्ला कमिटीको सचिवालयमा थप गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *