खारेज भयो पुनर्निर्माण प्राधिकरण

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएको छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि गठित प्राधिकरण समयावधि सकिएर शुक्रबारदेखि खारेज भएको हो ।

निर्धारित समयमै काम सम्पन्न गर्न नसकेपछि अतिरिक्त समय थपेर प्राधिकरणको आयु लम्ब्याइएको थियो । यद्यपि अझै पनि प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न सकेको थिएन । तर अब प्राधिकरण नै खारेज भएपछि बाँकी रहेका अधुरा काम विभिन्न निकायलाई जिम्मा दिइएको छ ।

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र सोही वैशाख २९ गतेको शक्तिशाली प्रकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सोही सालको पुस १० गते प्राधिकरण गठन गरिएको थियो ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा ३ बमोजिम नेपाल सरकारले प्राधिकरणको समयावधि २०७७ माघ १५ गते एक पटकका लागि थप गरेको थियो । थपिएको समय २०७८ पुस ९ गतेसम्म कायम रहेकाले शुक्रबार मध्यरातबाट समयावधि सकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *