सेन्ट्रल जोन भलिबल : नेपालद्वारा उज्वेकिस्तान पराजित

काठमाडौँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टीमले पहिलो जित हात पारेको छ । प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पहिलो सेट गुमाएर पनि त्यसपछि लगातार तीन सेटमा जित निकाल्दै खेल ३-१ ले आफ्नो पक्षमा पार्‍यो ।

रोमाञ्चक खेलको पहिलो सेट उज्वेकिस्तानले २५-१८ ले सहज रुपमा आफ्नो पक्षमा पारेको थियो । तर‚ त्यसपछि नेपालले शानदार पुनरागमन गर्दै खेल २५-२१, २५-२१ र २५-२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ ।

पुरुषतर्फ ५ टीम सहभागी रहेको प्रतियोगितामा राउन्ड रोबिनको आधारमा शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली महिला टीमले पनि लगातार दुई खेलमा जित निकाल्दै फाइनलको सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *