प्रदेश दुईलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौँ । प्रधान मन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा समूह ‘बी’बाट सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको छ । प्रदेश दुईलाई पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।

धनगढीको फाल्पामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनको उच्च स्कोर बनाएको थियो । तर‚ जवाफमा प्रदेश नम्बर दुई ५६ रनमात्र जोड्न सफल भएपछि सुदूरपश्चिमले ८७ रनको फराकिलो जित निकाल्यो ।

सुदूरपश्चिमलाई उच्च स्कोरमा पुर्‍याउने क्रममा बिन्दु रावलले ५० रनको अर्धशतकीय इनिङ खेलिन् । ४५ बलमा उनले ४ चौका प्रहार गरेकी थिइन् । त्यस्तै रुवि पोद्दार २१, कविता जोशी १३, शोभा रोकाया, संगिता मोउनी १३ र डली भट्टले १५ रनको स्कोर बनाएकी थिइन् । प्रदेश २ की बिमला मगरले २, अनुराधा चौधरी र साना प्रविनले १–१ विकेट लिए ।

१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ५६ रन बनायो । उसका लागि साना प्रविनले १४ र बिमला मगर १२ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमका लागि स्पिनर लक्ष्मी साउद र कविता जोशीले २-२ विकेट लिएका थिए ।

प्रतियोगितामा समूह ‘ए’बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’बाट नेपाल एपीएफ क्लब यसअघि नै सेमिफाइनलमा पुग्दा अर्को टीमको रुपमा सुदूरपश्चिमले स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *