क्यानका असन्तुष्ट सदस्य भन्छन्- नियोजित रुपमा खेलाडीलाई गरिएको कारबाही फिर्ता गरियोस्

काठमाडौँ । नेपाल क्रकेट संघ क्यानले खेलाडीमाथि गरेको कारबाहीलाई लिएर क्यानभित्रकै असन्तुष्ट पक्षले आफ्ना असहमति सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का असन्तुष्ट ६ केन्द्रीय पधाधिकारीहरू अमितवीर पाण्डे, ऋषिराम गौतम, मोहमद्द दाउद अन्सारी, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले क्यानले खेलाडीमाथि गरेको कारबाही नियोजित भएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा सदस्य छुम्बी लामाले भने‚ ‘हामिले धेरै पटक असहमतिहरू जाहेर गर्‍यौँ । यसलाई ठुलो इस्यू नबनाऔँ भन्यौँ । तर‚ क्रकेट नेतृत्व स्वेच्छाचारी भएर हाम्रो कुराहरू सुनेन ।’ उनले खेलाडीमाथि कारबाहीका लागि गरिएको प्रतिवेदन आफूहरूलाई अध्ययन गर्न नदिएको पनि बताए ।

उनले भने‚ ‘हामीले पटक-पटक खेलाडीलाई कारबाही गर्नु राम्रो होइन भन्दा भन्दै उहाँहरूले सुन्नु भएन । त्यसैले यो कारबाही योजनाअनुसार नियोजित रुपमा नै गरिएको हो ।’ उनले बहुमतको बलमा खेलाडीमाथि कारबाही गरिएको जिकीर गरे ।

उनीहरूले यसबारेमा राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयलगायत निकायमा लिखित पत्र बुझाएको जानकारी पनि गराएका छन् ।

‘विधानअनुसार क्यान चलेन’
त्यस्तै क्यानभित्र लड्दा-लड्दा थाकिसकेको भन्दै उनीहरूले लिखित रुपमा नै आफ्ना समस्या राष्ट्रिय खेलकुद परिषद् र क्यान तथा मन्त्रालयमा राखेको बताए । उनीहरूले भने‚ ‘क्यान विधानअनुसार चल्न सकेन । हाम्रो माग विधानअनुसार मात्रै चलोस् भन्ने हो ।’ असन्तुष्ट पक्षले जारी गरेको वक्तव्यमा आईसीसीबाट पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यान अर्को विवादमा फस्न लागेको उनीहरूले बताए ।

उनीहरूले क्यान नेतृत्वले गैरजिम्मेवार व्ययभार गरेको भन्दै आफूहरूले बैठकको एजेन्डाहरू नै थाहा नपाउने गरेको गुनासो गरे । साथै क्यानको निर्णयसमेत प्रेस वक्तव्य मार्फत थाहा पाउनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताए ।

साथै उनीहरूले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभाको वैधानिकता नै नभएको दाबी गरे । असन्तुष्ट पक्षले २० जिल्लामा कार्यकाल सकिएर साधारण सभा नभएको अवस्थामा आफ्ना मान्छे नियुक्त गरेर भागबन्डा गर्न लागिएको आरोप समेत लगाए । उनीहरूले क्यानका निर्णयमा ‘नोट अफ डिसेन्ट’मात्र लेख्ने काम भएको भन्दै अब क्यानलाई नीति र नियममा चल्ने कि नचल्ने भन्ने प्रश्न महत्वपूर्ण भएको बताए ।

उनीहरूले क्यान नेतृत्व क्रिकेटको विकासमा भन्दा क्रिकेटलाई कमजोर बनाउन लागिपरेको आरोप लगाएका छन् ।

जिल्लाको साधारण सभा नै नभई केन्द्रीय साधारणसभाको मिति तोकेको, बोर्ड सदस्यहरूलाई कम्तीमा २१ दिनअघि नै एजेन्डा उपलब्ध गराउनुपर्नेमा त्यसो नगरेको, बरु बैठक सुरु हुनुभन्दा केही मिनेटअघि मात्र जानकारी गराएको र विभिन्न निर्णय गर्नुपर्ने प्रस्ताव गरेको, नियोजित तरिकाले राष्ट्रिय टिमका खेलाडीलाई कारबाही गर्ने निर्णय गरेकोलगायतका आरोप लगाएका हुन् ।

उनीहरूले खेलाडीमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने, क्रिकेट संघ विधि‚ पद्धति र नियमानुसार अघि बढ्नुपर्ने, एकतर्फी ढंगले अघि बढ्न खोजे नेपाली क्रिकेटकै लागि कालो दिन आउनसक्ने भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरूले कार्यसमितिको बैठकमा एजेन्डा वितरण नगरी आफूखुसी प्रस्तावहरू ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने तथा कतिपय निर्णयहरू छलफल नै नगरी लेख्ने र सदस्य रहेका आफूहरूले समेत त्यस्ता निर्णयहरू प्रेस विज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था रहेको दाबी गरिएको छ ।

क्रिकेट संघले दुई वर्षमा आशा गरेअनुसार काम गर्न नसकेको‚ राष्ट्रिय प्रतियोगिता गर्न नसकेको‚ नेपाली क्रिकेटको विकासमा लामो समय खर्च गरेका पदाधिकारी राजीनामा दिएर हि‌ँड्नुपरेको उल्लेख गर्दै उनीहरूले खेलाडीहरूले राखेका कुराको सुनुवाइ नभएकाले सञ्चारमाध्यममा त्यसबारे आफ्नो गुनासो राखेको र त्यसमा क्यानविरुद्ध केही नबताएको उल्लेख गर्दै उनीहरूले यतिका भरमा उनीहरूमाथि नियोजित रुपमा कारबाही गरिनु जायज नहुने र यसले नेपाली क्रिकेटलाई पछाडि धकेल्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *