प्रगतिशील पत्रकार संघका अध्यक्ष जीएमले दिए राजीनामा

काठमाडौँ । प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जीएमले राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जीएमले विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चानिकट रहेर लामो समय काम गरेका जीएमले आजकै मितिबाट लागू हुनेगरी राजीनामा दिएको जनाएका हुन् ।
उनले नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास भएको स्मरण गर्दै विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छ रूपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति भएको उल्लेख गरेका छन् ।
यसको शिकार अहिले मसाल र जनमोर्चा भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरू भइरहेका छन् । केही आरोपहरू र कथित आरोपहरू, केही विमतिहरू र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु ।’
जीएमले नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको भूमिकामा भने अझ सक्रियताका साथ लाग्ने बताएका छन् ।








