वायु सेवा निगमलाई कम्पनीमा नलाने मन्त्री आलेको उद्घोष

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वायु सेवा निगमलाई कम्पनी मोडलमा नलगी सरकारी स्वामित्वमै सञ्चालन गर्ने बताएका छन् । वायु सेवा निगमले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
यसअघि निगम सञ्चालक बोर्डले कम्पनी मोडलमा लाने प्रस्ताव मन्त्रालयमा लगेको थियो । सरकारले नै निगमलाई कम्पनीमा लाने प्रस्ताव ल्याउन निगमलाई भनेको थियो । सञ्चालक बोर्डले उक्त प्रस्ताव तयार गरेर पठाएपछि भने कर्मचारीहरु भने निजीकरणको विरोधमा आन्दोलन गर्दै आएका थिए । निगमका तत्कालिन महाप्रबन्धकलाई कार्यालय नै प्रवेशमा रोक लगाएका थिए ।
पर्यटन मन्त्रीमा आले आएपछि भने उनले पौडेललाई मन्त्रालयमा लगेर निगममै कार्यरत युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए ।
कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले भने निगमको पूँजी वृद्धि गर्दै नयाँ जहाज किन्न १५ अर्ब रुपैयाँ निकासा दिन मन्त्री आलेसँग माग गरे । निगमले यसअघि दुइ ओटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग गरी झण्डै २५ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
उक्त ऋण तिर्न नसक्दा अहिले ३२ अर्ब रुपैयाँ पुगिसेकेको छ । त्यस्तै, सञ्चित ऋण गरेर कम्पीको ऋण ५० अर्ब रुपैयाँ पुगिसकेको छ । कम्पनीको सम्पत्ती भने ८४ अर्ब रुपैयाँ जतिको रहेको अनुमान गरिँदै आएको छ ।









