हेमाको गालालाई सडकसँग तुलना गर्ने मन्त्रीले मागे माफी

नयाँ दिल्ली । भारत महाराष्ट्रका खानेपानी तथा सरसफाइमन्त्री गुलाबराव पाटिलले सडकलाई अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीको गालासँग तुलना गरेको भन्दै त्यसको विरोध भएपछि माफी मागेका छन् । केहि दिनअघि गुलाबरावले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेका थिए, ‘३० वर्षदेखि विधायक रहेकाले मेरो विधान सभा क्षेत्रमा आएर यहाँका सडकहरू हेर्नुपर्छ । बाटो हेमा मालिनीको गालाजस्तो भएन भने म राजीनामा दिन्छु ।’

महाराष्ट्रका मन्त्री गुलाबराव पाटिलको भनाइप्रति प्रतिक्रिया दिँदै हेमा मालिनीले भनिन्, ‘मैले आफ्नो गाला सुरक्षित रूपमा राख्नु राम्रो होला । तर‚ मलाई यस्ता टिप्पणीहरू मन पर्दैन ।’ सबैभन्दा पहिले लालुप्रसाद यादवले उनको गालालाई सडकसँग तुलना गरेका थिए । त्यसपछि यो क्रम निरन्तर चलिरहेको छ । हेमाले थप भनेकी छन्, ‘यस्तो गर्नुहुँदैन, कुनै पनि महिलाको बारेमा यस्तो कुरा कसैले पनि गर्नुहुँदैन ।’

मन्त्री गुलाबरावले आफ्नो भनाइप्रति माफी माग्दै भनेका छन्, ‘मैले कसैलाई चोट पुर्‍याउने उद्देश्यले भनेको थिइनँ । मेरो टिप्पणीका लागि म माफी चाहन्छु । म शिव सेनाको हुँ‚ जसको मूर्ति छत्रपति शिवाजी महाराज हुनुहुन्छ । हाम्रो पार्टीका संस्थापक बाला साहेब ठाकरे‚ जसले नारीलाई सम्मान गर्न सिकाउनुभएको छ ।’

गुलाबरावको भनाइपछि सांसद सञ्जय राउत पनि यो विवादमा परेका छन् । ‘यस्ता तुलनाहरू विगतमा पनि धेरै भएका छन् र यसलाई हेमाजीप्रतिको श्रद्धाको रूपमा हेर्नुपर्छ,’ उनले भने‚ ‘हामी उहाँहरूलाई सम्मान गर्छौँ । यसलाई नकारात्मक रूपमा नहेर्नुहोला । यसअघि विहारका पूर्वमुख्य मन्त्री लालु यादवले पनि यस्तै उदाहरण दिएका थिए ।’

हेमा मालिनी सन् २००३ देखि भाजपाकी राज्यसभा सांसद रहेकी छन् । २०१४ मा उनी भाजपाबाट निर्वाचन जितेर लोकसभामा पुगेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *