क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउन्डेसन

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउन्डेसन पछि हटेको छ ।

फाउन्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो ।

फाउन्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ ।

सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले कोभिड-१९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन् ।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् ।

यस सम्बन्धमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन् ।

महानगरले फाउन्डेसनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेसन पछि हटेको हो ।

उनका अनुसार फाउन्डेसनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्‌मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदैछ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन् ।

उनले भनिन्, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोहीअनुसार काम गर्न हामी तयार छौँ ।’

भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो ।

फाउण्डेसनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ ।
उनले थपिन्, ‘रंगशाला सम्पन्न हुन्छ ।’

फाउण्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेसनले पेस गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ ।

यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदैछ । दुवै निकायबाट जाँचबुझपछि खेलकुद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो ।

सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर रंगशाला निर्माणको कामलाई पूर्णता दिने बताए ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुनसकेको छैन ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताए ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेसनको दाबी छ। रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको यसअघि नै फाउण्डेसनले दाबी गरेको थियो ।

रङ्गशाला सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ । रंगशालाको विसं २०७५ माघ १६ गते काठमाडौंमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो ।

– रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *