एसेसको दोस्रो टेस्टमा अस्ट्रेलिया २७५ रनले विजयी

एसेस सिरिजअन्तर्गत पाँच टेस्टका लागि अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्ड लगातार दोस्रो हारको शिकार भएको छ । दोस्रो टेस्टमा अस्ट्रेलियाले दिएको ४६८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम दिन १९२ रनमा समेटिएपछि अस्ट्रेलियाले २७५ रनको जित निकालेको हो ।

एडिलेडमा भएको खेलमा अन्तिम दिन इंग्ल्यान्ड १९२ रनमा अलआउट गर्न अस्ट्रेलिया सफल भयो । जितसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलियाले २-० को अग्रता बनाएको छ ।

त्यसअघि पहिलो इनिङमा राम्रो सुरुवात गर्दै अस्ट्रेलियाले ४७३ रनको उच्च स्कोर बनाएको थियो । उसका लागि मार्नुस लबुसेनले १०३ रनको शतकीय इनिङ खेल्दा कप्तान स्टिभ स्मिथले ९३ रन बनाएका थिए । त्यस्तै डेभिड वार्नरले ९५ रन बनाउँदा एलेक्स क्यारीले पनि ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

जवाफमा पहिलो इनिङमा इंग्ल्यान्ड २३६ रनमा समेटियो । पहिलो इनिङमा उसका लागि डेभिड मलानले सर्वाधिक ८० रन बनाउँदा जो रुटले ६२ रन बनाएका थिए । अस्ट्रेलियाका लागि पहिलो इनिङमा बेन स्टोक्सले ३ विकेट लिंदा जेम्स एन्डरसनले २ विकेट लिएका थिए ।

दोस्रो इनिङमा अस्ट्रेलियाले २३० रन बनाएर समग्रमा ४६७ रनको अग्रता बनाएर इनिङ घोषणा गरेको थियो । दोस्रो इनिङमा उसका लागि मार्नुस लबुसेनले ५१ रन बनाउँदा ट्रेभिस हेडले पनि ५१ रन बनाए ।

समग्रमा ४६८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा पनि खराब प्रदर्शनको शिकार भयो । उसले अन्तिम दिन १९२ रन बनाउँदा सम्पूर्ण विकेट गुमायो । इंग्ल्यान्डका लागि दोस्रो इनिङमा क्रिस वक्सको ४४ रन सर्वाधिक रह्यो । त्यो बाहेक ओपनर रोरी बर्नसले ३४ रन बनाउँदा डेभिड मलानले २० तथा जो रुटले २४ रनको योगदान दिए ।

अस्ट्रेलियालाई जित दिलाउन झे रिचर्डसनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै मिचेल स्टर्क र नाथन लियोनले २-२ विकेट लिएका थिए । यी दुईबीचको तेस्रो टेस्ट मेलबर्नमा २६ डिसेम्बरबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *