एमसीसीमा तीन धार : विरोध, समर्थन र मौन !

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरुबीच अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर तीन थरी धारणा विकसित भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल भएको थियो ।

तर, छलफलमा सत्तारुढ दलहरूभित्रै एउटै धारणा भने प्रकट हुन सकेन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पारित गर्नुपर्ने पक्षमा रहँदा  नेकपा माओवादी केन्द्र संशोधनसहित मात्र पारित गर्नुपर्ने पक्षमा उभिएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा भने पारितै गर्न नहुने पक्षमा छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विरोध गरेका थिए । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको समर्थन गरे भने जसपाकै अध्यक्ष उपेन्द्र यादव भने मौन रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । अहिले सत्तारुढ गठबन्धनबीच तीन धार देखिएका छन् ।

पहिलो धार- पारित गरेर जाऔँ

नेताहरुकाअनुसार बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनुपर्ने र अगाडि बढाउन सरकारले चाहेको भनी विषयवस्तु प्रवेश गराएका थिए ।

उनले एमसीसी पास गर्ने वा फेल गर्ने भन्नेबारेमा प्रष्ट केही पनि बताएनन् । तर, बैठकमा कांग्रेसका अन्य नेताहरूले एमसीसी पास गरेरै जानुपर्छ भन्ने मत प्रकट गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास गर्नुपर्ने बताएका थिए ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको पक्षमा धारणा राख्दै भने– ‘मेरै प्रधानमन्त्रीत्वकालमा एमसीसी नेपालमा छलफलमा आएको हो, यो पारित गर्दा हुन्छ ।’

दोस्रो धार- संशोधनसहित पारित गरौँ

सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संशोधनसहित पारित गर्नुपर्ने पक्षमा उभिए । अध्यक्ष प्रचण्डले प्राप्त आर्थिक सहयोग फिर्ता गर्न नहुने तर अहिलेको अवस्थामा केही संशोधन गर्नुपर्ने पक्षमा देखिएका हुन् ।

‘दाहाल एमसीसी संशोधनसहित पारित गर्नुपर्ने पक्षमा उभिएका छन्’ बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने । बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्न नहुने बताएका थिए ।

तेस्रो धार- पारित गर्न हुन्न

सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सहभागी भएका पार्टी महासचिव वेदुराम भुसालले भने एमसीसी पारित गर्न नहुने धारणा राखे । भुसालको भनाइमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका नेता सुवाल र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले पनि समर्थन जनाइन् । दुवैले एमसीसी पारितै गर्न नहुने धारणा राखे ।

सर्वदलीय बैठकमा डाकिए पनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । एमसीसीबारे समान धारणा नबनेपछि त्यसको पहलस्वरुप टुङ्गोमा पुग्न सत्तारुढ ५ दलीय गठबन्धनले ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् ।
कार्यदलले एमालेलगायत अन्य दलहरूसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले बताए ।

तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् ।

त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।

सम्बन्धित समाचार
-एमसीसी : अब के हुन्छ ?
-एमसीसीबारे समान धारणा बनाउन कार्यदल गठन
-एमसीसी अनुमोदन गर्न बाेर्डकाे पुनः आग्रह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *