नसोचेको पाएका तर पाउँछु भनेको गुमाएका शाही

सुर्खेत । संघीय सरकारमै मन्त्री भइसकेका जीवनबहादुर शाही प्रदेशसभाको उम्मेदवार बन्दै गर्दा ‘कर्णालीको मुख्यमन्त्री बन्ने’ सपनाले प्रेरित गरेको चर्चा हुने गरेको थियो । तर, कर्णालीमा उनको दल नेपाली कांग्रेसले सरकार बनाउने गरीको जनमत नपाएपछि उनी संसदीय दलको नेतामै चित्त बुझाउन बाध्य भए ।

तर अस्थिर र टुटफुटबाट आक्रान्त राजनीतिबाट उनलाई भने लाभ मिल्यो । उनी कर्णालीको मुख्यमन्त्री बन्न सफल भए । कांग्रेसले कर्णालीमा जम्मा ६ सिट मात्र जितेको अझ प्रत्यक्षतर्फ १ सिट मात्र जितेको का भएर पनि मुख्य मन्त्री बन्न सफल भएपछि उनलाई धेरैले ‘भाग्यमा लेखेरै ल्याएका रहेछन्’ भन्ने गर्छन् ।

तर सधैँ भाग्यले साथ नदिने रहेछ भन्ने कुरा काँग्रेसको १४ औँ महाधिवेशनको परिणामले देखायो । महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा उम्मेदवार बनेका शाही पराजित भए । उम्मेदवार हुनासाथ आफू निर्विकल्प उम्मेदवार भएको भन्दै अति उत्साही र ओभर कन्फिडेन्स देखिएका उनी कोइराला प्यानलबाट उम्मेदवार बनेका बद्री पाण्डेसँग पराजित भए । पाण्डेले २४११ र २१३३ मत प्राप्त गरे ।

संघमा शेरबहादुर देउवाका प्रिय र प्रदेशमा उप-सभापतिमा नवनिर्वाचित पूर्णबहादुर खड्काका दाईने हातका रूपमा रहेका उनी विजयी हुन सकेनन् । जबकि महाधिवेशनमा देउवा र खड्का दुवै विजयी भए । शाहीले प्रदेश सभापति बन्ने तयारी गरेपनि पछि सह महामन्त्रीमा चुनावमा उठ्ने गरी प्रदेश सभापतिबाट पछि हटेका थिए । तर प्रदेशमा देउवा पक्षका उम्मेदवार विजयी हुँदा उनी सह महामन्त्रीमा पराजित हुन पुगे ।

सुदूरपश्चिमको भोट एकत्रित गर्न नसकेको ठम्याई
पिछडिएको क्षेत्रबाट सह महामन्त्रीको एक सिटमा तीन जनाले उम्मेदवारी दिएका थिए । हुम्लाका जीवनबहादुर शाही, बाजुरा बद्री पाण्डे र बझाङका चेतराज बजाल । शुरुदेखि नै शाही र पाण्डेलाई बलिया उम्मेदवार मानिएको थियो । त्यसमा पनि देउवा प्यानल बलियो भएकाले शाही नै विजयी हुने विश्वास कर्णालीका कांग्रेसको थियो ।

तर सुदूरपश्चिमबाट देउवा निकट महाधिवेशन प्रतिनिधिले पनि पाण्डेलाई नै भोट दिएकाले शाही पराजित हुनुपरेको निष्कर्ष कर्णालीका कांग्रेस नेताहरूको छ । नेविसंघबाट राजनीति यात्रा सुरु गरेका पाण्डेले बाजुराको नेविसंघ सभापति हुँदै केन्द्रीय महामन्त्री भएका थिए । शाहीले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै मत परिणामले आफूलाई थप हौसला मिलेको भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘मलाई यति धेरै मत दिएर जुन माया ममता दिनु भयो सम्पूर्ण मतदाताहरूलाई हार्दिक आभार प्रकट गर्दछु । अरू कसैले जितेका छैनन् काँग्रेसले नै जितेका छन् । जित्ने नेताहरूलाई हार्दिक बधाई छ ।’

यसअघि महामन्त्रीमा पराजित हुने निश्चित भएसँगै रक्षामन्त्री डा मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । शाहीले पनि त्यही बाटो पछ्याउने हुन् कि भन्ने आँकलन गरिए पनि उनले राजीनामा नदिने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *