भुइँमान्छे र पैतला (कविता)

जबजब पेटको भोकले आगो माग्छ,
जबजब अभावको अँध्यारोले आकाश ढाक्छ,
जबजब सत्ताको कोर्राले चोइटिन बाँकी रहँदैन शरीरको कुनै पनि एक भाग,
जबजब मुजा परेका निधारका नाम्लाहरूले बोकिरहन सक्दैनन्
– बौद्धिकता, विवेक र मानवताको जाँतो !

तबतब भुइँमान्छेका पैतालाले मुक्तिगीत सुसेल्दै हुर्काउँछन्
– विद्रोही फूलका बेर्नाहरू !

हुर्कँदै जाने क्रममा
क्रमशः बेर्नाहरू विष वृक्षमा रूपान्तरण हुँदै गए-
भ्लादमीर लेनिन र रेड टेरर,
जोसेफ स्टालीन र कुलाक अप्रेसन,
एडोल्फ हिट्लर र लेबेस्राम,
बेनितो मुसुलोनी र फाँसीवादी एजेन्डा,
माओ जेदुङ र महान् अग्रगामी छलाङ,
हो ची मिन्ह,
मुअम्मर अल गद्दाफी,
सद्दाम हुस्सैन,
पल पट‚
किम जुङ उन‚
रिसेप तैथ्यप आर्दोगान र, समयका अन्य कृत्रिम विष वृक्षहरू ।

वर्तमान परिस्थितिमा
यसप्रकार अत्तालिइरहेको छ मेरो मनस्थिति,
मलाई डर छ, कतै यो सूचिमा मेरो नाम नथपिओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *