‘बाँके’ लागुऔषध कारोबारको उच्च जोखिममा

नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागुऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उनले सो जानकारी दिएका हुन् ।

नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागुऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना) औषधि वितरणले लागुऔषधको जोखिम बढाएको उनले बताए । बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भने,‘पछिल्लो समय नेपालगन्ज सहर लागुऔषध कारोबारको ‘ट्रान्जिट हब’ का रूपमा विकास हुँदै गएको छ ।’

सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागुऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले लागुऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिए । कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागुऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताए ।

बाँकेमा आर्थिक वर्ष ०८०/८१ को वैशाखसम्ममा एक सय ४६ लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव ४९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव ३१३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागुपर्दाथ प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष ०७९/८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७/७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठूलो मात्रामा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *