ओलीको निर्देशन- ‘पार्टीका कामलाई प्रभावकारी बनाउनू’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । १०औँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिइएको हो ।

महाधिवेशनपछि पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)-१ जारी गर्दै अध्यक्ष केपीओलीले विधान महाधिवेशन र १०औँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्धरुपमा आरम्भ गरिसकेको जनाए । गत मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो । ‘हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ ।’ एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *