ब्याजदर निश्चित गरी लिएको ऋणको ब्याजदर परिवर्तन गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित समयसम्म निश्चित ब्याजदर हुने गरी लिइएको ऋणको ब्याजदर परिवर्तन गर्न नपाइने भएको छ । बिहीबार राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो निर्देशनले व्याजदर निश्चित गरेर लिइएको ऋणमा पनि व्याजदर परिर्वतन गरी बैंकबाट भोग्नु परेको मारबाट राहत पाउने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले घर तथा सवारी कर्जामा निश्चित समयसम्म परिवर्तन नहुने गरी ब्याजदर निश्चित गरेर ऋण दिन–लिन पाइने व्यवस्था गरेको थियो । तर, बैंकहरुले तरलता अभावको कारण देखाउँदै ऋणीलाई बोलाएर त्यस्तो ऋणको ब्याजदर परिमार्जन गर्न लागेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

‘कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने छ । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न पाइने छैन,’ राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने, २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गगर्ने समेत बैंक वित्तीय संस्थार्ला निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *