सुदूरपश्चिम : पीएम कप महिला क्रिकेट प्रतियोगिताको तयारी पूरा

धनगढी । धनगढीमा यही पुष ३ गतेदेखि हुने प्रधान मन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह-आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।

आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले धनगढीमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगिताका लागि मूल आयोजक समितिसँगै विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए ।

उनले प्रतियोगितमा सुदूरपश्चिमसहित ८ टिमको सहभागिता रहने बताए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’मा नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ छन् ।

फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगितामा म्यान अफ द म्याच २ हजार प्रतिम्याच, म्यान अफ द सिरिज २५ हजार, बेस्ट बलर १५ हजार, बेस्ट ब्याट्स म्यानलाई १५ हजार दिइने आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *