टन्सिललाई हेलचेक्र्याइँ नगरौँ

काठमाडाैँ । जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए ।

उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य पदार्थ एवं पेय पदार्थ पिउँदा पनि घाँटी दुख्ने र टन्सिल हुने बताए । उनका अनुसार रुघाखोकी बढ्दै जाँदा पनि टन्सिलको जोखिम हुन्छ ।

कतिपयलाई टन्सिल निको पार्न एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुन्छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठले टन्सिल सबैको समस्या हो भन्दै कसैलाई नियमित टन्सिल हुन सक्ने बताए । उनले ब्याक्टेरियाबाट हुने टन्सिलका कारण तत्कालीन र दीर्घकालीन जटिलता एकदमै खतरापूर्ण हुन सक्ने बताउँदै एकपटक टन्सिल भइसकेपछि निको हुने तर बारम्बार बल्झिरहन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।

सङ्क्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्ने र सङ्क्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्ने सम्भावना रहन्छ । सङ्क्रमण रगतमा फैलिएर दीर्घकालीन रूपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नी र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ ।

बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले बालबालिकालाई पनि टन्सिलको समस्या हुन सक्ने बताउँदै टन्सिल हुँदा प्रशस्त आराम गराउने तथा तातो पानी पिउने, चिया वा कागतीपानीमा मह मिसाएर खान दिने, मनतातो पानीमा नुन घोलेर दिनमा चार/पाँचचोटि कुल्ला गर्न लगाउने बताए । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =