बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियाे

काठमाडाैँ । स्पेनिस क्लब बार्सिलोना १७ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण पुग्न असफल भएको छ। पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना जारी सिजन लगातार खराब लयबाट गुज्रिदा महत्त्वपूर्ण प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो।

लिग अन्तर्गत जित्नै पर्ने खेलमा बुधबार बार्यन म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना समूह चरणबाट बाहिरिएको हो । बार्सिलोना १७ वर्षमा पहिलो पटक नकआउट चरण पुग्न असफल भयो । समूह ‘इ’ बाट बार्यन म्युनिख र बेनीफिकाले अघिल्लो चरणमा स्थान बनाए। बार्सिलोना पछिल्लो पटक २००३-०४ को सिजनमा क्वालिफाइ हुन सकेको थिएन।

बार्सिलोना पराजित भएपछि नकआउटमा पुग्न बेनफिका डायनामो किभसँग पराजित हुनु पर्ने थियो तर बार्सिलोनाको पक्षमा परिणाम आएन। पोर्चुगिज क्लबले डायनामो कीभलाई आफ्नो घरेलु मैदानमा २-० ले पराजित गर्दै उपविजेताका रूपमा नकआउटमा स्थान बनायो। उसले जाभि प्रशिक्षणमा रहेको बार्सिलोनालाई तेस्रो स्थानमा धकेल्दै दोस्रो स्थानमा उक्लिँदै नकआउटमा स्थान बनायो।

बार्यन म्युनिखले शतप्रतिशत नतिजा निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्किको क्रसमा थोमस मुलरले ३४ औँ मिनेटमा हेड गर्दै पहिलो गोल गरेको थियो। म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर लेरायो सानेले १० मिनेट पछि नै कोमनको पासलाई सदुपयोग गर्दै टीमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा थप एक गोल गर्‍यो। जमाल मुसियालले ६२ औ मिनेटमा तेस्रो गोल गरे। उनले अल्फासो डेभिसको पासलाइ सदुपयोग गरे।

पहिलो हाफमा गोलरहित रहेको अवस्थामा बार्सिलोनाका लागि गोलको मौका थियो। जोर्डी अल्बाको पासलाई गोल रक्षक म्यानुअल नुएरले बचाए। पाएको बललाई डेम्बेलेले चुकाए। ह्यामिस्ट्रिङका कारण अल्बा लामो समय मैदानमा रहन भने सकेनन्। बार्यन शतप्रतिशत नतिजा सहित समूह विजेता बन्दा बेनिफिका भने आठ अंकका साथ दोस्रो स्थानमा रहँदै नकआउट प्रवेश गर्‍यो। बार्सिलोनाको भने ७ अंक मात्रै भयो।

बार्सिलोनाले सिजनको सुरुवातमा वित्तीय समस्याको कारण देखाउँदै आफ्ना स्टार स्ट्राइकर लियोनेल मेस्सीलाई जबरजस्त क्लबबाट बाहिर पठाएको थियो। आधा मूल्यमा पनि मेसीलाई अनुबन्धन गर्न नसकेपछि बार्सिलोनाको निराशाजनक यात्रा जारी छ। मेस्सी भने पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *