मच्छिन्द्र अपराजित रहँदै दोस्रो स्थानमा उक्लियो 

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साबिक च्याम्पियन मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरे क्लब जावलाखेल भने लगातार तेस्रो हारको सिकार भयो।

बुधबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेललाई पराजित गर्दा दुवै गोल पहिलो हाफमा सम्भव बनायो। अघिल्लो खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी रोकियो मच्छिन्द्र जावलाखेललाई पराजित गर्दै पुनः लयमा फर्कियो।

स्टार खेलाडीले भरिएको मच्छिन्द्रले दुवै गोल पहिलो हाफमा गरेको थियो। खेलको सुरुवात देखि नै आक्रामक रूपमा प्रस्तुत भएको मच्छिन्द्रले १४ औँ मिनेटमा आत्मघाति गोलमार्फत खेलमा अग्रता लियो। जावलाखेलका सीमान्त थापाले मनिष डाँगीको पासमा अभिषेक रिजालले क्रस गर्दा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे।

खेलको २१ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। मच्छिन्द्रका लागि रञ्जित धिमालले फ्रीकिकमा गोल गरेका थिए। त्यसपछि दुवै टिमले गोलका केही सुन्दर मौका चुकाए।दोस्रो  हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरे पनि मच्छिन्द्रले गोल गर्न भने सकेन। यद्यपि जावलाखेलले पनि केही आकर्षक मौका खेर फाल्यो।

७६ औँ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीले पाएको मौकालाई सदुपयोग गर्न असफल रहे। डिबक्स भित्र टच गरे मात्र गोलको सम्भावना रहेको अवस्थामा उनले बललाई छुन नसक्दा अग्रता कम गर्ने मौका जावलाखेलले चुकायो। जितसँगै मच्छिन्द्रले तीन खेलमा सात अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।

शीर्ष स्थानको सात दोबाटो युथ क्लबको पनि सात अंक भए पनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। मच्छिन्द्रको जितले मनाङ भने लिगको तेस्रो स्थानमा झरेको छ। उसको पनि सात अंक नै छ। प्रतियोगितामा जावलाखेलको यो लगातार तेस्रो हार हो। उसले अहिलेसम्म खाता खोल्न सकेको छैन भने गोल गर्न पनि सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *