सुनसरीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने प्रतिबद्धता

विराटनगर । सुनसरीका स्थानीय तहहरूले पूर्ण खोप जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आयोजना गरेको  एक कार्यक्रमकाबीच १२ वटै स्थानीय तहले प्रतिबद्धता जनाएका हुन् । सबै स्थानीय तहका  स्वास्थ्य शाखाका प्रमुखहरूको भेलाले इनरुवा घोषणा पत्र  जारी गर्दै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अहिले पनि स्थानीय तहहरूबाट १४ वटा सरुवा रोगहरू-क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार , हेपाटाइटिस बी, हेमोफिलस इन्फल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाईटीस, जापानिज इन्से फलाइटिस् र रोटा भाइरसबाट हुने पखालाविरुद्ध तथा गर्भवती महिलाहरूका लागि टीडी  खोप – धनुष्टङ्कार र भ्यागुते रोगविरुद्ध उपलब्ध गराइँदै आइएको जानकारी दिइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले समयानुकूल खोप सेवाहरू अवलम्बन गर्दै लक्षित वर्गको खोप पाउने अधिकार सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरेकोले  सोही अनुसारको प्रतिबद्धता जारी भएको बताए ।

‘सरकारको प्रतिबद्धता अनुसार खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण, निवारण र उन्मूलनमा तीव्रता दिई खोपको माध्यमबाट रोकथाम गर्न सकिने रोगहरूलाई शून्य अवस्थामा पु-याउने प्रतिबद्धता पनि जारी भएको छ’, उनले भने, ‘सबै तहमा सबै खोपको समान कभरेज गर्ने उद्देश्य रहेको र यी लक्ष्य उद्देश्य प्राप्ति गर्न नियमित खोपमा सबै खोपहरूको कभरेज सबै स्थानीय तहमा  सन् २०२१ को अन्त्य सम्ममा सबै स्थानीय तह जिल्ला र प्रदेशहरूमा पूर्ण खोप सुनिश्चित गर्ने  भनिएको छ ।’ सुनसरी जिल्लालाई २०७९ जेष्ठ महिना भित्र पूर्ण खोप जिल्ल घोषणा गर्ने प्रतिबद्धता व्यक्त भएको प्रसाईँले बताए ।

बराहक्षेत्र नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, कोसी, हरिनगर, गढी, बर्जु, देवानगज, भोकाहा नर्सिङ गाउँपालिकाले जेष्ठ महिनासम्ममा पूर्ण खोप घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *