गाउँपालिका बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको बैठकमा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरणको विषयमा विवाद हुँदा उनीहरुबीच हात हालाहाल भएको थियो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष  उषाकुमारीले कुर्सीले हान्दा अध्यक्ष सूर्यनारायणको दुई वटा दाँत समेत भाँचिएको छ । सामान्य विषयमा विवाद बढ्दै जाँदा यस्तो घटना भएको वडा नं. ३ का वडाध्यक्ष दीपेन्द्रकुमार यादवले बताए । मंगलबार  गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका वेला विवाद भएको हो ।

उपाध्यक्ष मण्डलले बैठकमा छलफल चलिरहेको बेला अध्यक्ष मण्डलले नजिक आएर अपशब्द प्रयोग गरेपछि कुर्सीले प्रहार गरेको स्वीकारेकी छन् ।  यद्यपि प्रहरीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटको घटनाबारे आधिकारिक रूपमा जानकारीमा  नआएको बताएको छ । अध्यक्ष र उपाध्यक्षबीच विगतमा बजेट वितरणलाई लिएर पनि सार्वजनिक रूपमै विवाद हुँदै आएको छ ।

गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर, उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष मण्डल जसपामा छन् भने उपाध्यक्ष उषाकुमारी लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *