चुलो नचिनेको गणतन्त्र

एकपटक शहरमा ठूलाबडाहरूको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधान मन्त्रीलाई व्यङ्ग्य गर्दै भन्यो‚ ‘मित्रहरू म तपाईँहरूसमक्ष भन्न चाहन्छु कि यो प्रधान मन्त्रीभन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो संवाद आगोसरि फैलिएर प्रधानमन्त्रीको कानमा पुग्यो । उनले सिपाही लगाएर घिसार्दै आफन्तीलाई बादशाह अघिल्तिर हाजिर गराए । प्रधान मन्त्रीले आफूलाई निन्दा गरेको दोषारोपण गरे र कडाभन्दा कडा सजायको माग गरे ।

रिसले चुर हुँदै आफन्तीलाई बादशाहले सोधे‚ ‘तिमीले प्रधान मन्त्रीभन्दा मेरो गधा नै बुद्धिमान छ भनेर कसरी भन्यौ ? तिमीसँग के प्रमाण छ ?’ ‘मसँग प्रमाण छ’ आफन्तीले जवाफ दियो‚ ‘एकचोटि म मेरो गधा चढेर पुलबाट जाँदै थिएँ । कुनै जनावरको खुट्टा त्यस पुलको एउटा प्वालमा परेर झिक्न कठिन भएको रहेछ । मेरो गधाको प्रयासबाट त्यसले बल्ल बल्ल आफ्नो खुट्टा प्वालबाट झिक्न सफल भयो । यसको केही दिनपछि म फेरि त्यही पुल हुँदै जानुपर्ने भयो । त्यसबेला के भयो भने मेरो गधा त्यो प्वालमा खुट्टा पर्ला भनेर होसियार भयो । तर‚ सरकारको प्रधानमन्त्री कस्ता छन्‚ नजर गरिबक्स्योस् । जनताले बिहानदेखि बेलुकासम्म ठग, बदमास, चोर भन्ने गर्छन् । त्यही पनि उनले जनता ठग्ने, लुट्ने र दुःख दिने काम छाडेको छैन । सरकार के मेरो गधा यो प्रधानमन्त्रीभन्दा बुद्धिमान छैन र ?’ ‘हाहाहा ! ठिक छ, ठिक छ‚’ प्रधानमन्त्रीतिर हेरेर बादशाहले उर्दी जारी गरे‚ ‘आजदेखि तिमीले उसका गधाको अनुसरण गर्नू ।’

देशका शीर्ष नेताहरूप्रति अनास्था होइन तर माइक पाउनासाथ उनीहरूका हुँकार कुखुरीको कोरकोराइभन्दा कम हुँदैन । शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र माधव नेपालका भाषण सुन्नुस् त सृष्टिको सुरुवात आफूहरूले गरेको भन्न बाँकी बाहेक सबै कुराको ठेक्का लिन पछि पर्दैनन् ।

सत्ययुगमा रावणको कब्जाबाट नारीत्व बचाएर फर्किएकी सीता आफ्नै पति राजा भएको रामराज्यभित्र अग्निपरीक्षामा होमिनुपरेको थियो । आलोचक भनिएको धोबी पात्र त एउटा निहुँमात्र थियो- सत्ता र शक्तिको अहँ कति विवेक शून्य हुन्छ भन्ने उदाहरणको तस्बिर त्यो बेलादेखि यो बेलासम्म आउँदा सक्कलबमोजिम नक्कल उस्तै छ । पोखरीमा माछाले हजारौँ, लाखौँ फूल पार्छ तर कसैलाई पत्तो हुन्न, यद्यपि कुखुराको पोथीले एउटा अन्डा पारेपछि बस्ती नै थर्काउँछ । देशका शीर्ष नेताहरूप्रति अनास्था होइन तर माइक पाउनासाथ उनीहरूका हुँकार कुखुरीको कोरकोराइभन्दा कम हुँदैन । शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र माधव नेपालका भाषण सुन्नुस् त सृष्टिको सुरुवात आफूहरूले गरेको भन्न बाँकी बाहेक सबै कुराको ठेक्का लिन पछि पर्दैनन् ।

दलदले भूमि सिंगापुरलाई हिराको डल्लोमा रूपान्तरण गर्ने लिक्वान कुनै सरकारी कागजमा दस्तखत गर्नुअघि एउटा प्रश्न गर्थे‚ ‘यो निर्णयले सिंगापुरलाई हित गर्छ कि अहित ?’ कर्मचारीले उपलब्धिको बेलिबिस्तार लगाउँथे । त्यसपछि उनी आँखा चिम्लेर सही धस्काउँथे । देश बनाउनेले आफ्नो कर्मले जवाफ दिनुपर्छ । ट्याउँ ट्याउँ त पिँजडाको सुँगाले पनि बोल्छ ।

आकाश खसेर या धर्ती उल्टिएर मानव सभ्यता नै सखाप हुनुलाई मात्र बरबाद नठान्ने हो भने माया पात्रोले भविष्यवाणी गरेका कुरा आंशिक असत्य छैन । आफ्नै सन्तानमाथि बाउले बलात्कार गर्नु, बाउआमा मिलेर हुर्काएको रगतको डल्लोमा आगो लगाउनु, घरमा चोरी गराएरै त्यही चोरसँग टाप कस्नु, कुदिरहेको बसमा किशोरीमाथि मिलेर बलात्कार गर्नु, सन्तानको लालनपालन गर्न नसकेर बच्चासहित डोरीमा टाँगिनु, पुलबाट हाम्फाल्नु यिनै प्रतिनिधि घटना हुन्, जसले हाम्रो सामाजिक मनोदशाको प्रतिनिधित्व गर्दछन् । अपराधी तर्सने यसखाले घटना परिघटनाको सूत्रपात कहाँबाट हुन थाल्यो ? इदिअमिन, बोकासादेखि विन लादेन र सद्दाम हुसेनहरू पनि माथिबाट तल हेरेर भन्दा हुन्- ‘थुइक्क अपराधी हो, अपराधको पनि हद हुन्छ नि !’

महिलाको विषयमा महिला, मधेशीको विषयमा मधेशी, जनजातिको सरोकारमा जनजाति, थारुको विषय उठ्नासाथ थारुमात्र उफ्रिने भएपछि यो समाजमा अपराधी त हुने नै भएन । अन्यायविरुद्ध स्वयम्भूका दुई आँखामात्र टुलुटुलु हेर्ने भए । कार्पेटमाथिको नभएर कार्पेटमुनिका फोहोर निकालेर निहुँ खोज्ने प्रवृत्ति हाबी हुँदा समाधानभित्र समस्या निकाल्ने दीर्घ रोगीहरूको खेतीपाती मौलाएको छ । समस्या आफैँमा कहिल्यै समस्या हुँदैन । जब समस्यालाई समस्याको आँखाले हेरिन्छ‚ तब समस्या सधैँ गुजुल्टो बनेर उपस्थित हुन्छ ।

मनोविज्ञहरूका अनुसार मानिस तीनखाले बुद्धिका हुन्छन्‚ जसलाई केरापाते, कम्बल र जुत्ता बुद्धि नामकरण गरिएको छ । जसरी केराको पात चाहेजति च्यात्न खोज्दा अरू बढी च्यातिन्छ, त्यसरी नै केरापाते बुद्धि भएकाहरू थोरै सिकाइमा धेरै बुझ्छन् । कम्बल बुद्धि भएकाहरू सियो छिराउन्जेल प्वाल देखिने र निकाल्ने बित्तिकै जस्ताको तस्तै भएजस्तै कुरा गरुन्जेल सम्झन्छन्, छोडेपछि जस्ताको तस्तै । जुत्ता बुद्धि भएकाहरू जुत्ता सिलाउँदा जुत्तामा जत्रो प्वाल पारिन्छ, नफाटुन्जेल उत्रै भएजस्तै तिनीहरू पनि जति सिकाएको छ, त्यतिमै सीमित रहन्छन् । सम्भवतः नेपालको राजनीतिमा अहिले कम्बल बुद्धि भएकाहरूको प्रभुत्व छ । राजनीति बलले नभएर समझदारीले गरिने कर्म हो । तर यहाँ मिचाहाहरूको बलमिचाइँले राजनीति दलालहरूको खेलखोर बन्न गएको छ । लाइन मिलाएर आउनुस्, गाइलाई गोरु बनाउने सामर्थ्य राजनीतिले राख्छ । सामाजिक सञ्जाल नामको मैदानमा उत्रिएर असामाजिक क्रियाकलापमा उत्रिनुलाई पहिलो कर्तव्य ठान्नेहरूको भीडले समस्याको पहाड चुलिँदो छ । सामाजिक कानुनका अगाडि संविधानका धाराहरू सधैँ फिका देखिन्छ । माओवादीले १५ वर्ष मान्छे मार्ने खेती गरेर उसले नेपालमा तालिबानी सभ्यता घुसाउन भगीरथ प्रयास नगरेको कहाँ हो र ? तर नेपाली संस्कारले किमार्थ त्यो संस्कृति वरण नगर्ने भएपछि उनीहरू मच्चिँदा मच्चिँदै थच्चिनुको अवस्थामा पुग्नुपर्‍यो ।

राजनीति बलले नभएर समझदारीले गरिने कर्म हो । तर यहाँ मिचाहाहरूको बलमिचाइँले राजनीति दलालहरूको खेलखोर बन्न गएको छ । लाइन मिलाएर आउनुस्, गाइलाई गोरु बनाउने सामर्थ्य राजनीतिले राख्छ ।

जे भएपनि मानिसको विकल्पमा बुद्धिमानी भन्दैमा डल्फिन हुन सक्दैन । आफूलाई चाहिनेभन्दा बढी आहारको लोभ गर्दैन भनेर चितवनको बाघलाई काजमा वीरगञ्ज लगेर भन्सार जिम्मा लाउनु पनि भएन । देउवाको उछितो काढेर सत्ताको बागडोर रत्नपार्कको मुकुन्दे र लक्ष्मण खड्कालाई दिनुपर्छ भन्ने पनि होइन तर यति चाहिँ पक्कै हो- शासकहरू तिमीहरूले सनकमा विवेक गुमाउनु हुँदैन । हेक्का रहोस् पुलिस, सेना र कर्मचारीतन्त्रले लगाइदिएको दुईदिने कर्मकाण्डी नक्कली प्वाँखले दुई पाइला पनि उड्न सकिन्न । मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीमध्ये यति भाग्यमानी प्रधानमन्त्री थिए, जसले सेनाको मानार्थ जर्नेल पदवीमात्र होइन, सैनिक पोसाकमै हिँड्ने अवसर पाए । तर‚ खै उनको परिचय सैनिक अफिसरका रूपमा कहिल्यै बनेन । बरु ६ महिना लर्कोमा सर्को खरदार जागिर खाएका उनका पिताजी जिन्दगीभर खरदार कृष्णप्रसाद कहलाए । पदमा को कति बस्यो भन्दा पनि पदमाथि कसले कति न्याय गर्‍यो भन्ने चाहिँ महत्त्वपूर्ण हो ।

राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ- समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन । समस्या त समस्यालाई सधैँ समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । त्यसैको पछिल्लो संस्करण हो- सरकारमा पुग्ने नेतृत्व । अन्नको रासमा पुगेर पनि ऊ भोककै गीत गाइरहन्छ । सिंहदरबार पस्दा संसार सम्याउने हाँक लिएर पस्ने नेताहरू निस्कँदा चोर बिरालोजस्तो दूध चोरेको नदेख्ने, पिटाइ खाएको देख्नेजस्तो भएर निस्कन्छन् । नेपालमा कस्तो सुन्दर राजनीति चल्छ भने गरिबीको राग अलापेर राजनीति गर्नेहरू आफू समृद्ध बन्छन् तर गरिबको उन्नयन कहिल्यै हुँदैन । हामी गरिब या गरिबी कसको उन्मूलन गर्दैछौँ, त्यसको स्पष्ट राजनीतिक जवाफ कसैसँग छैन ।

गरिबीको अन्त्य गर्न गरिबलाई बाख्रो त दिन्छौँ, तर जाँडको सितनका लागि बाख्रो नै सिध्याउने त्यो गरिबको गरिबी कसरी अन्त्य होला‚ त्यसको अर्थशास्त्रीय जवाफ कसैसँग छैन । चुलोले नचिनेको राजनीति र खोटो मोहोर एउटै रहेछ भन्ने तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ । हाम्रा लगानीहरू नुन, सुन र लसुनमा भन्दा भनसुनमा केन्द्रित बन्दै गए । नेताहरू हावाबाट बिजुली निकालेर स्याटलाइटबाट बाँड्ने योजनामा छन् तर जनता भने फेसबुकबाट पेट्रोल, ग्यास डाउनलोड गरेर कुबुद्धिको आगो झोस्न मस्तराम छन् । खुसी कसैलाई मन पर्न छाडेको छ । आँसुमा खेल्न रुचाउने परपीडकहरू गल्लीगल्लीमा बढेका छन् । अरूको कुरा काट्न आफ्नो गोजी रित्याएर भट्टीलाई रोजगार दिनेहरूको संख्या अझ बाक्लिँदो छ ।

नेपालमा कस्तो सुन्दर राजनीति चल्छ भने गरिबीको राग अलापेर राजनीति गर्नेहरू आफू समृद्ध बन्छन् तर गरिबको उन्नयन कहिल्यै हुँदैन । हामी गरिब या गरिबी कसको उन्मूलन गर्दैछौँ, त्यसको स्पष्ट राजनीतिक जवाफ कसैसँग छैन ।

अपराधको प्रकृति संसारमै बीभत्स देखा पर्न थालेको छ । मर्ने त मरी नै गए, बाँच्ने पनि बाँचेर मर्ने खालको अवस्था छ । शायद माया पात्रोले पनि यही संकेत गरेको हुनुपर्छ । घटना अमेरिकाको हो- दुधे बालक सिध्याउनेले आफ्नै आमा पनि बाँकी राखेन । आकस्मिक दमकल बोलाएर दमकलका मानिसलाई अनाहक भुटिसकेपछि संसारकै सभ्य राष्ट्र मानिने अमेरिकाको त्यो अपराधीले भनिदियो‚ ‘मान्छे मार्नु मेरो सोख हो ।’ दिउँसै तरबार चलाएर मान्छे गिँड्ने अपराधीले चीनमा त्यसरी नै तहल्का मच्चायो । आफ्नो भूमिभित्र जनताको मन जितिएन भने सबै ग्रह, उपग्रह, भूमण्डलदेखि अन्तरिक्षमा झण्डा गाढे पनि केही फरक पर्दैन । सफल राजनीतिज्ञले आफू दुःख काटेर भए पनि जनता समृद्ध बनाउँछ । तर‚ भएको औकातबाट जनतालाई झार्ने विचित्रको उल्टो प्रहसन दिनरात चलिरहेको छ । यो देशमा भीमसेनलाई पसिना आएको खबरले हप्तौँ महत्त्व पाउँछ तर खाडीको तातो भुंग्रोमा जीवन बिसाएकाहरू खबरविहीन बन्छन् ।

तिनीहरूकै खरानीभित्र रेमिट्यान्स खोजेर हामी देशको भविष्यमाथि बहस गरिरहेका छौँ । एकपल्ट दैनिकीको पात्रो पल्टाउनुस् त । धारामा पानी छैन, बाल्ने बिजुली छैन, बाटो छैन, गाडी चढ्नुस् चालकको ठाउँ सहायकले ओगटेको छ । अन्तरिक्षयात्रीहरूले मंगलग्रहमा पानी पत्ता लगाएको समाचार सुन्ने नेपालीहरू मेलम्चीको मिथकमा अझै मुख मिठ्याउँदैछन् ।

विकासको स्वरूप कस्तो छ भने १० लाख सवारीधनीका लागि काठमाडौँमा ६ लेनका सडक बन्छन् तर ३० लाख बटुवाका लागि केही नसोचे फरक पर्दैन । ठूलाबडाले त्यही सुँगुर बँदेल भनेर खाँदा उसको इज्जत बढ्छ, गरिबले सुँगुर खाए पानीबाट काढिन्छ । युवायुवती मिलेर बसे सभ्य भाषाको लिभिङ टुगेदर रे ! त्यही सम्बन्धमा हिसाबकिताब नमिले सडकदेखि सदनसम्म बलात्कार नामको महाभारत । स्वेच्छाले रेस्टुराँमा पसेका एक जोडी युवायुवतीलाई पक्रिएर पत्रकार सम्मेलन गर्दा सिंगो प्रहरी बाघ मारेको फुइँ लगाउँछ तर विदेशी भूमिमा तिनै महिलाले शरीर बन्धक बनाएर पठाएको पैसा इज्जतिलो रेमिट्यान्स ठहर्छ । सत्य एकातिर छ तर समस्याको जरोमा होइन, पातमा चाकाचुली खेल्नु हाम्रा लागि मनोरञ्जन हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *