एमाले स्थायी कमिटी बनाइँदै, को-को छन् सम्भावित सदस्य

काठमाडौँ । भर्खरै दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) ले पार्टीकाे स्थायी कमिटी बनाउने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले नेताहरूसँग छलफल तथा परामर्श गरिरहेका छन् । एक नेताकाअनुसार अहिले पनि अध्यक्ष ओली केही पदाधिकारीसँग छलफलमै छन् ।

ती नेताकाअनुसार कमिटीमा को को ल्याउने भनेर लगभग टुङ्गो लागिसकेको छ । एमालेले १९ पदाधिकारीबाहेक २६ जना स्थायी कमिटीमा लैजाँदैछ । यसका लागि अध्यक्ष ओलीले नेताहरूसँग विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

एमालेले साबिक कमिटीमा भएका सदस्यहरूलाई स्वतः पुन: सदस्य बनाउने भएकाे छ । त्यसो हँदा घनश्याम भुसाल, किरण गुरुङ, भीम आचार्य, मणि थापालगायतका नेताहरू स्वतः सदस्य हुनेछन् । ती नेताले भने, ‘त्यसबाहेक अन्य नेताहरू पनि कमिटीमा आउनुहुन्छ ।’

यसबाहेक भानुभक्त ढकाल, खगराज अधिकारी, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई, कृष्णगोपाल श्रेष्ठलगायतलाई पनि कमिटीमा मनोनीत गरिने बताइएको छ ।

एमालेले मंसिर २६ गतेदेखि २७ गतेसम्म लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकले स्थायी कमिटी, पोलिटब्यूरोलगायत गठन गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटब्यूरो ९९ सदस्यीय हुनेछन् । ३०१ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशनबाट बनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *