न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित

काठमाडौँ । न्युजिल्यान्डसँगको शृङ्खलाको दोस्रो टेस्टमा भारत ३७२ रनले विजयी भएको छ । चौथो दिन भारतले किवि टिमलाई क्रिजमा ४५ मिनेट पनि टिक्न दिएन । परिणामतः न्युजिल्यान्ड इतिहासकै फराकिलो हार बेहोर्न बाध्य भयो भने भारतले पनि टेस्ट क्रिकेट इतिहासकै फराकिलो जित हात पार्‍यो ।

भारतले तेस्रो दिन नै न्युजिल्यान्ड सामु ५४० रनको लक्ष्य राखेको थियो । तर न्युजिल्यान्ड १६७ रनमै आउट भयो । जितसँगै भारतले शृङ्खला १-० ले जित्यो । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । तेस्रो दिनको खेल सकिँदा न्युजिल्याड ५ विकेट गुमाएर १४० रनको अवस्थामा थियो ।

चौथो दिन न्युजिल्यान्डले थप २७ रन जोड्दा बाँकी ५ विकेट गुमायो । सोमबार भारतको जितमा जयन्त यादव नायक साबित भए । उनी एक्लैले ४ विकेट लिँदा बाँकी एक विकेट रविचन्द्रन आश्विनले लिए । समग्रमा आश्विन र यादवले ४-४ र अक्षर पटेलले १ विकेट लिए ।

दोस्रो टेस्टमा भारत पहिलो इनिङमा ३२५ रन बनाएको थियो भने दोस्रो इनिङमा २७६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । जवाफमा पहिलो इनिङमा ६२ रनमा समेटिएको न्युजिल्यान्ड दोस्रो इनिङमा १६७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डले भारतीय भूमिमा पछिल्ला १२ खेलमा जित निकाल्न सकेको छैन । पछिल्लो पटक भारतलाई उसकै मैदानमा न्युजिल्यान्डले १९८८ मा हराएको थियो । वानखडे मैदानमा जितयताका १२ पटक न्युजिल्यान्ड जितविहीन हुनु परेको छ ।

भारतका कप्तानका रुपमा विराट ३९ औँ टेस्ट जित्न सफल भए । वानखडे मैदानमा भारतीय टिमको यो लगातार तेस्रो जित हो । भारतीय भूमिमा न्युजिल्यान्डसँग भारतको यो ८ खेलमा ७ औँ जित समेत हो । घरेलु भूमिमा न्युजिल्यान्डविरुद्ध कप्तान कोहलीको यो लगातार चौथो जित तथा घरेलु भूमिमा भारतको यो लगातार १४ औँ सिरिज समेत हो । यही टेस्टबाट रविचन्द्रन आश्विनले घरेलु ३०० विकेट समेत पूरा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *