माटोलाई माया गरौँ

माटो एक अमूल्य प्राकृतिक उपहार हो । माटो नै जीवन हो । माटो नै जननी हो । माटोबिना जीवनको मात्र होइन‚ यो चरारचर जगतकै कल्पना असम्भव छ । माटो सिर्जनाको मूल तत्व हो । जीवनमा माटोको भूमिकाको महत्वबारे हाम्रा प्राचीन धर्मशास्त्रहरूमा समेत वर्णन गरेको पाइन्छ, विभिन्न प्रकारका दानहरूमध्ये माटो दान महत्त्वपूर्ण दानको रुपमा परिभाषित गरिएको छ ।

कृषि क्षेत्रमा त यसको महिमा अपरम्पार छ । बिरुवाले आफूलाई आवश्यक पर्ने खाद्यतत्व माटोबाटै पूरा गर्दछ । कुनै पनि बिरुवाको राम्रो वृद्धि र विकासका निम्ति कम्तीमा १६ प्रकारका खाद्यतत्व आवश्यक पर्छन् र तीमध्ये कुनै एकको समेत कमी हुनगएमा बिरुवाको वृद्धि र उत्पादनमा नकारात्मक असर पर्छ । एक ईन्च माटो बन्न सयौँ वर्ष लाग्छ । तर हाम्रा कतिपय गैह्रप्राकृतिक क्रियाकलापहरूले माटोको गुणस्तर खस्किँदो छ ।

नेपालमा सन्तुलित मलको प्रयोगका सम्बन्धमा किसानमा जानकारी नभएर वा धेरै फलाउने लहैलहैमा लाग्नाले माटोलाई हानी पुग्ने खालका रसायनहरूको प्रयोग बढिरहेको छ । अर्कातिर उत्पादनका लागि मात्र होइन‚ हामीले गर्ने हानिकारक वस्तुको उपभोगको प्रभाव पनि माटोमा नै पर्दैछ । मागअनुसारको मात्रामा सबै प्रकारका खाद्यतत्व उपलब्ध नभएर समेत चाहेर पनि किसानहरूले तोकिएको परिमाणको खाद्यतत्व बिरुवालाई दिन सकेका छैनन् ।

यसको नकारात्मक असर सिधै उत्पादन तथा उत्पादकत्वमा देखापरिरहेको छ । साथै संविधान, दिगो विकासका लक्ष्य, कृषि विकास रणनीतिलगायतले अघि सारेका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न समेत चुनौती थपिएको छ । त्यसैले पर्याप्त उत्पादन लिन सबै खाद्यतत्वको सन्तुलित प्रयोग आवश्यक छ । माटोमा प्रयोग गर्न पर्ने खाद्यतत्व र परिमाणको जानकारी लिन माटो परीक्षण गर्नुपर्छ । पछिल्लो समय नेपालको माटोमा अम्लीयपना बढ्दो मात्रामा पाइएको छ । नेपालमा करिब ५३% माटोमा अम्लीयपनाको समस्या छ । माटो अमिलो हुनु भनेको माटोको पीएच भ्याल्यू ७ भन्दा कम हुनु हो ।

सामान्यतया पीएच भ्याल्यु ७ को आसपास भएको माटो प्रायः सबै बालीका लागि उपयुक्त हुन्छ ।

रासायनिक मलको प्रयोग, निरन्तरको वर्षा र वर्षासँगै आएको बाढी, माटोको क्षयीकरण, माटोमा रहेको प्राङ्गारिक पदार्थहरूको मात्रामा गिरावटलगायत कारणले गर्दा माटोमा अम्लीयपना बढ्दो क्रममा रहेको हो । यसै परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष ‘माटोको अम्लीयकरण रोकौँ माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नाराका साथ विश्व माटो दिवस २०२१ नेपालमा पनि मनाइँदैछ । यो आठौँ विश्व माटो दिवस हो । यो दिवस प्रत्येक डिसेम्बर ५ मा मनाइन्छ ।

यो पनि
को हुन् किसान‚ किन गरिन्छ हेला ?

यसअघि सन् २०१५ लाई माटो वर्षको रुपमा मनाइएको छ । माटोमा अम्लीयपना बढेमा माटोमा रहेका सूक्ष्म जिवाणुहरूको गतिविधिमा बाधा पुग्दछ । माटो कडा भई बिरुवाको जरा तथा समग्र वृद्धि र विकासमा नराम्रो असर गर्दछ । बालीमा विभिन्न प्रकारका रोगको आक्रमणको अवस्था आउनमा समेत अम्लीयपनाको प्रत्यक्ष भूमिका रहन्छ ।

हामीले प्रयोग गर्ने प्राङ्गारिक तथा रासायनिक मल बिरुवाले पर्याप्त मात्रामा ग्रहण गरी उत्पादन बढाउने वातावरण तयार गर्न समेत माटोमा रहेको अमिलोपनाको व्यवस्थापन जरुरी छ । रासायनिक मलको सन्तुलित प्रयोग गरी प्राङ्गारिक तथा कम्पोस्ट मलको प्रयोग बढाएर, खनजोत व्यवस्थापन गरेर, बाली चक्र अपनाएर, समेत माटोको अम्लीयपना रोक्न सकिन्छ ।

यो पनि
कुरिलोबाट मनग्य कमाउन सकिन्छ

माटोको अम्लीयपनाको मात्रा जानकारी लिएर सोहीअनुसार कृषि चुनाको प्रयोग गर्न सकेको खण्डमा माटोमा रहेको अम्लीयपनाको व्यवस्थापन हुन्छ । प्रतिकठ्ठा वा प्रतिरोपनीमा कति किलो चुना प्रयोग गर्ने भन्ने जानकारी लिने सम्बन्धमा माटो परीक्षण गर्नु अनिवार्य छ । देशका विभिन्न स्थानमा रहेका माटो परीक्षण प्रयोगशालामा माटोको नमूना लगेर माटो जाँच गराउन सकिन्छ । अथवा सम्बन्धित पालिकाका कृषि शाखामा सम्पर्क गरेर समेत माटो परीक्षण गराउन सकिन्छ ।

यता पालिकाहरूले समेत कृषकवर्गमा माटो परीक्षणका सम्बन्धमा चेतना जगाएर माटो परीक्षण शिविर सञ्चालन अनिवार्य गर्नुपर्ने देखिन्छ ।

सारांशमा‚ माटो जननी हो । माटोको उत्पादनमै मानिसलगायत प्राणीहरू बाँच्ने हुन् । माटो प्रदुषित भयो वा यसको गुणस्तर खस्कियो भने एकातिर उत्पादन घट्छ‚ अर्कोतिर उत्पादन पनि गुणस्तरीय हुँदैन । त्यसैले माटोको माया गर्न जरूरी छ । किसानले पनि र सरकारले पनि यो कुरालाई गम्भीरताका साथ लिन जरूरी छ ।

(कृषि विज्ञानमा स्नातक गरेका दाहाल मोरङ बेलबारी नगरपालिकाको, कृषि विकास शाखामा कार्यरत छन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *